कलाशैली संवाददाता । दक्षिण भारतीय सुपरस्टार महेश बाबुलाई भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले समन पठाएको छ । हैदराबादस्थित रियल इस्टेट फर्म साई सूर्य डेभलपर्स र सुराणा ग्रुपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) प्रकरणमा उनको नाम जोडिएपछि उनलाई अप्रिल २७ मा ईडी कार्यालयमा उपस्थित हुन भनिएको हो ।
महेश बाबु सो प्रकरणमा ग्रिन मीडोजका ब्रान्ड एम्बेसडरको भूमिकामा रहेको र उनले सोही अवधिमा नगद भुक्तानीमार्फत सेवा उपलब्ध गराएको भन्दै ईडीले आशंका व्यक्त गरेको छ । उक्त नगद कारोबार मार्फत कालो धन सेतो बनाइएको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । यसअघि ईडीले साई सूर्य डेभलपर्स र सुराणा ग्रुपसँग सम्बन्धित कयौँ स्थानमा छापा मारेको थियो । साई सूर्यमाथि ठगी र अवैध लगानी संकलनको आरोप लागेको छ भने कम्पनीका मालिक सतीश चन्द्र गुप्तामाथि विशेष निगरानी राखिएको छ ।
तेलंगाना प्रहरीले भाग्यनगर प्रोपर्टीज लिमिटेडका निर्देशक नरेन्द्र सुराणा र साई सूर्य डेभलपर्सका प्रमुख सतीश चन्द्र गुप्तासहित अन्य विरुद्ध ठगीसम्बन्धी एफआईआर दर्ता गरेपछि ईडीले अनुसन्धान अघि बढाएको हो । महेश बाबु हाल तेलुगु फिल्म ‘एसएसएमबी २९’ को छायाङ्कनमा व्यस्त छन् । उक्त फिल्ममा उनी बलिउड अभिनेत्री प्रियङ्का चोपडासँग पहिलो पटक स्क्रीन शेयर गर्दै छन् । एसएस राजामौली को निर्देशनमा तयार हुँदै गरेको यो फिल्ममा पृथ्वीराज सुकुमारन पनि मुख्य भूमिकामा रहेका छन् ।