• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

इतिहासकै सर्वाधिक फिल्म दर्ता, २०८२ मा कति आउलान् हलमा ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ८, सोमबार ११:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गएको वर्ष २०८१ नेपाली फिल्म क्षेत्रका लागि स्वर्णीम रह्यो । वैशाख १४ मा ‘बोक्सीको घर’ बाट प्रदर्शनको खाता खुलेर चैत २९ मा ‘पिताम्बर’ र ‘कर्मा’ लाग्दासम्म ५९ फिल्म रिलिज भए । ‘बुलाकी’ र ‘आचार्य’ लाई रि–रिलिज गरियो । अघिल्ला वर्षमा एकाध फिल्मले नाफा कमाउनु बाहेक नेपाली फिल्मका लागि मुश्किलले लगानी उठाउनु पनि धौ धौ पर्ने अवस्था थियो । इन्टरनेशनल राइट्स, डिजिटल राइट्स (ओटीटी) र टीभी राइट्स बेचेर लगानी भरथेग गरिरहेका नेपाली निर्माताका लागि २०८१ अकल्पनीय नै बन्यो ।

    केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ ले नै १० करोड माथिको व्यापार गरेपछि अचम्भित बनेको नेपाली फिल्म क्षेत्रका लागि लगत्तै रिलिज भएका फिल्महरु ‘मनसरा’ ले ४ करोड ७८ लाख, एकसाथ रिलिज भएका ‘फर्कीफर्की’ ले ४ करोड ८५ लाख र ‘पुजार सार्की’ ले ७ करोड ३७ लाख तथा ‘गाउँ आएको बाटो’ ले ४ करोड २० लाखको व्यापार गरे । २०८१ को पहिलो त्रैमासिक भित्रै १० नेपाली फिल्म रिजिल हुँदा पनि ३७ करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेर २०८१ सफल बर्ष हुने संकेत देखाइसकेका थिए ।

    त्यसपछि दशैंमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ को महाभिडन्तले बक्सअफिसमा असर पार्ने अडकल काटिएको थियो । तर त्यसो भएन । दुवै फिल्म जोडतोडका साथ हलमा चले । तिहारसम्मै हलमा खुट्टा राख्ने ठाउँ थिएन । त्यसपछि तिहारमा आयो, ‘पूर्णबहादुरको सारंगी’ । यस फिल्मले दर्जनौं हलमा प्रदर्शनको ५१ दिन मात्रै पार गरेन, ४६ करोड ८० लाखको व्यापार एक्लैले गरिदियो । बक्सअफिसबाट ‘पूर्णबहादुरको सारंगी’ हेर्नका लागि १७ लाख भन्दा बढि टिकट काटिए । र, वर्ष २०८१ को सुखद अन्त्य फिल्म ‘अञ्जिला’ बाट हुँदा एक वर्षमा ५९ नेपाली फिल्मले १ अर्ब ८१ करोड बराबरको बक्सअफिस कारोबार गरे । जून अहिलेसम्मकै सर्वाधिक व्यापार पनि बन्न पुग्यो ।

    वर्षभर नै नेपाली फिल्मको व्यापारमा उछाल आईरहँदा यसको प्रत्यक्ष असर भने फिल्म निर्माणमा पर्ने प्रष्ट देखिएको छ । २०८१ मा मात्रै १९४ वटा फिल्म निर्माणका लागि दर्ता भएका छन् । निर्माण इजाजत लिने फिल्मको यो संख्या नेपाली फिल्म इतिहासकै सर्वाधिक हो । नेपाली फिल्म निर्माणका लागि इजाजत दिने आधिकारिक निकाय चलचित्र विकास बोर्डको विगत १० वर्षभित्रको फिल्म दर्ता तथ्यांक हेर्दा कोरोना कालका दुई वर्ष केही सुस्ताएको फिल्म निर्माणको अवस्था यतिबेला जुर्मुराएको छ । २०७० मा फिल्म निर्माणका लागि १७७ वटा कम्पनीले विकास बोर्डमा नाम तथा ब्यानर दर्ता गराएका थिए ।

    त्यसैगरी २०७१ मा घटेर १३६ पुगेपनि महाभुकम्प आएकै वर्ष झनै बढेर १३९ पुगेको थियो । २०७३ मा आईपुग्दा फिल्म दर्ता गर्नेको संख्या १९३ पुग्यो । जून गत वर्षको भन्दा १ कम हो । त्यसपछिका दुई वर्ष समान १९२ फिल्म दर्ता भएका थिए भने २०७६ मा १६७ फिल्म निर्माणका लागि इजाजत लिइएको थियो । त्यसपछिको दुई वर्ष (कोरोना काल) घटेर २०७७ मा ८६, २०७८ मा ७९ फिल्म मात्रै दर्ता गरिए । २०७९ मा आईपुग्दा रफ्तार बढेर १२१ र २०८० मा १५० पुग्यो ।

    त्यसो त निर्माण इजाजत लिएका सबै फिल्म बन्दैनन् । वा लगत्तै बनिहाल्छन् भन्ने पनि छैन । बोर्डले नाम दर्ता गरेको तीन वर्षसम्मका लागि निर्माण इजाजत दिएको हुन्छ । यस अवधिभित्र बन्न नभ्याएका कतिपय फिल्मले पुनः नवीकरण गरेर समेत निर्माण इजाजतलाई कायम राखेका हुन्छन् । २०८० मा निर्माण इजाजत लिने फिल्म कम्पनी १५० भएपनि २०८१ मा हलमा आएका फिल्म भने मात्र ५९ रहे ।

    अनुपातका हिसाबले हेर्दा बन्ने र प्रदर्शनमा आउने फिल्मको संख्या भन्दा इजाजत लिनेको संख्या निकै बढी हो । किनपनि बढी हो भने हाम्रो जस्तो सानो फिल्म बजार भएको देशमा वर्षका ५२ साताका लागि ५९ फिल्म नै बढि हो भने गतवर्ष दर्ता भएका फिल्मको संख्या त अझ यसको तेब्बर हुन आउँछ । निर्माण इजाजत लिइएका १९४ फिल्ममध्ये आधा मात्रै बन्दा पनि सातैपिच्छे झन्डै दुईवटा फिल्म रिजिका लागि जुध्नेछन् ।

    विस्तारै बजारले गति लिन थालेको नेपाली फिल्मका लागि यसरी बग्रेल्ती फिल्म निर्माण हुने र प्रदर्शनका लागि आउने हो भने यसले गुणस्तरीय फिल्म बन्नेमा शंका उत्पन्न हुन सक्छ । सीमित प्राविधिक, कलाकार र छायांकनसम्बन्धि सामाग्रीका कारण पनि एउटा फिल्मले प्री–प्रोडक्सन, सुटिंग र पोष्ट प्रोडक्सनका लागि पर्याप्त समय र जनशक्ति नपाउन सक्छ, वा हतारोमा काम सक्नुपर्ने बाध्यता आईपर्न सक्छ ।

    एकाध फिल्मले कमाए भन्दैमा ति फिल्मले किन र कसरी कमाएका हुन् भन्ने निर्माण प्रक्रियालाई नजरअन्दाज गरेर ‘लौ, नेपाली फिल्म बनायो भने त कमाईदो रहेछ’ भन्दै नयाँ निर्माताहरु आँखा चिम्लेर फिल्म निर्माणमा हाम फाल्नु घातक पनि हुन सक्छ । बिजय बराल जस्ता चरित्र कलाकारको ‘पूर्णबहादुरको सारंगी’ वा महिला कलाकार केन्द्रिय भुमिकामा रहेको केकी अधिकारीको ‘बोक्सीको घर’ ले उत्पात कमाउँदा वा फुटबलर एन्जिला तुम्बापो सुब्बाको जीवनीमा उनै अभिनित फिल्म ‘अञ्जिला’ ले पनि कमाएपछि धेरै निर्माता हौसिएका वा बहकिएका पनि हुन सक्छन् । लाग्दो हो, सामान्य कथाबस्तुमा सामान्य कलाकार राखेर ठीकठाकको बजेटमा फिल्म बनायो भने पनि करोडौं आम्दानी हुन सक्दो रहेछ भन्ने सोझो हिसाबले हाम फाल्दा नतीजा प्रतित्पादक पनि हुन सक्छ ।

    २०८१ मा दर्ता भएका फिल्मको सूची हेर्दा पनि पुराना र अनुभवी फिल्मकर्मी भन्दा नयाँको संख्या निकै बढि देखिन्छ । केही ब्यानर भने दोहोरिएका पनि छन् ।
    गतवर्ष ‘अगस्त्य’ बनाएका र दुई सातअघि मात्रै ‘कर्मा’ हलमा ल्याएका निर्देशक सौरभ चौधरीले अगस्त्य फिल्मस् प्रा.लि.को व्यानरमा ‘शुक्र र शनी’ नामक फिल्म दर्ता गराएका छन् । त्यसैगरी वितरक रोहित–रत्नले पनि आरआर फिल्म प्रोडक्सनको व्यानरमा ‘लंगुर बुर्जा’ बनाउन इजाजत लिएका छन् । त्यस्तै निर्माता सरोज न्यौपानेले पनि अनन्या फिल्मस् प्रालिको ब्यानरमा तीनवटा फिल्म दर्ता गराएका छन् । ‘फनफनी घुमेर’, ‘जेरी’ र ‘ज्याद्रो’ नाम दर्ता गराएका न्यौपानेले भर्खरै मात्र ‘जेरी’ लाई ‘जेरी : अनटप’ नाममा छायांकन सकाएका छन् ।

    अभिनयमा कुनैसमय एकछत्र राज गरेकी र हाल गृहस्थी जीवनमा आफुलाई व्यस्त बनाईरहेकी नायिका प्रियंका कार्की पनि निर्माणमा आउने तरखर कसेकी छन् । उनले पनि आयंका फिल्मस् प्रालिको ब्यानरबाट दुई फिल्म ‘सिक्का’ र ‘ख्या’ दर्ता गराएकी छन् भने गायकद्वय सत्य–स्वरुप आचार्यले पनि गतवर्ष ‘आचार्य’ रि–रिलिजसँगै नयाँ फिल्म ‘मिटर ब्याज’ लाई सत्य स्वरुप इन्टरटेनमेन्टबाटै बनाउने भएका छन् । २०८१ मा हिट फिल्म ‘१२ गाउँ’ दिएका नायक बिराज भट्टले पनि बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिबाट यसको सिक्वेल ‘१२ गाउँ २’ दर्ता गराईसकेका छन् । अर्का अभिनेता निखिल उप्रेतीले आफ्नै ब्यानरबाट ‘आचार्य’ बनाउनका लागि चलचित्र विकास बोर्डबाट इजाजत लिइसकेका छन् ।

    यीसँगै टु आवर्स इन्टरटेनमेन्ट प्रालिको व्यानरमा ‘असर्फी’ र ‘नन्की’, बान्की प्रोडक्सन प्रालिको व्यानरमा ‘बुबा’, शिरो फिल्मस् प्रालिको व्यानरमा ‘रमिताको पिरती’, पटकथा प्रडक्सन प्रालिको व्यानरमा ‘श्रीमान् श्रीमती’, रेदाअंश सिने आटस् प्रालिको व्यानरमा ‘खलनायक द रिभेञ्ज’, हरि ॐ सिने मेकर्श प्रालिको व्यानरमा ‘मैदान’, षट्कोण आट्र्सको व्यानरमा ‘दुलही’, ‘महारानी’ र ‘सटाहा’, सेभेन सिज सिनेमा प्रालिको व्यानरमा ‘रोल नं. १’ र ‘पूर्णबहादुरको सारङ्गी २’, सेभेन सिज इन्टरनेशनल फिल्मस् प्रालिको व्यानरमा ‘चूले निम्तो’ लगायतका केही फिल्म निर्माणको चरणमा गईसकेका छन् भने बाँकी पनि बन्ने पक्कापक्की छन् ।

    Post Views: 409
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार ११:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.