कलाशैली संवाददाता । अहिले नेपाली फिल्मको लागि नेपाल बाहिरको बजार महत्वपूर्ण मानिदै आएको छ । डिजिटल राइट्स, डायस्पोरा राइट्ससँगै ओटीटी राइट्सले अहिले केही फिल्मलाई राहत पनि दिएको छ । यसले फिल्म बनाउन आर्थिक रुपमा सहायता गर्ने गरेको छ । यद्यपि बजार विस्तारैसँगै यसको समस्या पनि बढेको छ ।
विदेशी बजारमा फिल्म प्रदर्शन गर्ने एमएसएम इन्टरटेनमेन्टका संचालक छत्र थापा पछिल्लो समय ओटीटी संचलान गरिरहेका छन् । अहिले नेपालसँगै विदेशमा बस्नेले पनि उनको एमएसएम भिडियोमार्फत नेपाली फिल्म हेर्न पाउछन् । अहिले विशेषत विदेशमा रहेका नेपालीलाई हलमा फिल्म हेर्ने वातावरण बनाउने मध्येका एक हुन् सेभेन सिज इन्टरनेशनल । यसलाई प्याट्रिक सुवेदी र रमेश ढकाल लगायतले संचालन गरिरहेका छन् ।
गत वर्ष ‘पूर्णबहादुरको सारंगी’ को निर्माता मध्येका दुईले अन्य धेरै फिल्मबाट मुनाफा आर्जन गर्न सकेका छैनन् । यसको कारण विविध हुनसक्छ । तर, वितरक सुवेदीले समयमा फिल्म उपलब्ध नहुनु मुख्य कारण रहेको बताएका छन् ।
‘हामीले सेन्सर प्रक्रिया र प्रचारप्रसारका लागि रिलिजको डेट भन्दा १४ दिन अगाडि फिल्म माग्ने गरेका छौँ । हामीसँग सम्झौता हुँदा त एक महिना अगाडि दिन्छु भन्नु हुन्छ तर ३/४ दिन अगाडि वा प्रदर्शनकै दिन फाइल आउने गर्छ । यसले हामीलाई फिल्म प्रदर्शनमा कठिनाई हुने गरेको छ’, वितरक सुवेदीले भने ।
पछिल्लो समय उनीसहितको समूहले वितरण गरेको ‘वसन्त’ मा ठूलो समस्या भोग्नु पर्यो । फिल्म नेपाल प्रदर्शनकै दिन उनले पाए । सोही कारण धेरै देशमा बक्सअफिस प्रदर्शन हुनसकेन । यसले आफूलगायत वितरण समूहलाई ठूलो घाटा लागेको वितरक सुवेदी बताउछन् ।
‘वसन्तमा ठूलै घाटा लागेको छ, यसको छलफल हामी निर्माण पक्षसँग गर्छौँ । किनकि हामी पनि यहीबाट फिल्म लिन्छौं भने प्रकाश सपूतजीले पनि फिल्म निर्माण गर्नुहुन्छ । त्यसकारण हामी सहमतिमै अगाडिको यात्रा तय गर्नेछौँ तर यो समस्या वसन्तमा मात्र नभई तिहारपछि हामीले विदेशी बजारमा प्रदर्शन गरेको प्राय फिल्ममा देखिएको छ’, वितरक सुवेदीले भने ।
उनले ढिला फिल्म प्राप्त हुँदा विदेशमा रहेका प्रदर्शक (हल) ले विस्तारै विश्वास गर्न छाडेको बताए । साथै, यस्तै अव्यावासयिकताले पछिल्लो वर्ष एक करोडको हाराहारीमा घाटा भएको उनको दावी छ ।
‘हामीले एक हप्तापछि फिल्म प्रदर्शन गरौँ भन्ने अप्सन पनि दिने गरेका छौँ । तर, नेपालकै मितिमा प्रदर्शन गर्ने निर्माता तथा निर्देशकको भनाइ हुन्छ तर व्यावसायिक रुपमा उहाँहरू कहिले सही हुनसक्नु भएन’, उनले भने ।
पछिल्लो समय नेपाली निर्मातामा देखिएको अव्यावासयिकताका कारण वितरक सुवेदीको समूहले २१ दिन अगाडि सेन्सर फाइल र १४ दिन अगाडि फाइनल फिल्म दिनुपर्ने सम्झौतासहित फिल्म खरिद गरिरहेको छ ।
सो सम्झौता पालना नभए निर्माताले क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने तर्क वितरक सुवेदीको समूहको छ । उनीहरुले हालै वैशाख २६ मा ‘ऊनको स्वीटर’, भदौ १२ मा ‘कोशेढुंगा’, दसैँमा ‘जारी २’ र कात्तिक ७ मा ‘पहाड’ प्रदर्शन गर्ने घोषणा गरेका छन् । यी फिल्म आफ्नो सम्झौता अनुसार नै डायस्पोरा प्रदर्शन गरिने वितरक सुवेदी बताउछन् ।
यसका साथै ‘जारी २’ कै मितिमा ‘हरिबहादुर जुत्ता’ प्रदर्शन हुने भएपछि सेभेन सिज इन्टरनेशनलले उक्त फिल्म प्रदर्शन नगर्ने भएको छ । ‘मिति परिवर्तन नभएमा हामीले हरिबहादुरको जुत्ता प्रदर्शन गर्न नसक्ने जानकारी गराएका छौँ’, वितरक सुवेदीले भने ।