कलाशैली संवाददाता । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘केसरी च्याप्टर-२’ ले रिलिज भएको पहिलो दिनमै बक्स अफिसमा गरेको कमाइले निर्माता तथा अभिनेता दुवैका लागि राहतको सास ल्याएको छ। पछिल्लो केही समयदेखि सफलताबाट टाढा रहेका अक्षय कुमारका लागि यो फिल्मले आशाको किरण देखाएको छ ।
सन् २०१९ मा रिलिज भएको ‘केसरी’ ले दर्शकमाझ देशभक्तिको भावनालाई उजागर गर्दै निकै राम्रो समीक्षात्मक र व्यापारिक सफलता प्राप्त गरेको थियो । त्यसैको नामलाई निरन्तरता दिदै ‘केसरी-२’ मा एक नयाँ वीर गाथा प्रस्तुत गरिएको छ, जसले दर्शक तथा समीक्षक दुवैबाट प्रशंसा बटुल्ने विश्वास निर्माण पक्षको छ ।
फिल्मको सुरुवाती व्यापार पनि आशाजनक देखिएको छ । यसले पहिलो दिनमा मात्र भारतीय बजारमा करिब ७.५० करोड भारतीय रुपैयाँको कमाई गरेको छ । यद्यपि यो कमाई अक्षयको अर्को फिल्म स्काई फोर्स (१५ करोड) को ओपनिङभन्दा कम हो, तर समग्रमा हेर्दा यो रकम हालै रिलिज भएका अन्य फिल्महरूसँग तुलना गर्दा निकै राम्रो मानिएको छ । जसले गर्दा यसले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।