कलाशैली संवाददाता । अभिनेता पल शाहको लागि गएको वर्ष सुखद रहेन । उनले अभिनय गरेका फिल्म ‘रावायण’ र ‘मायावी’ ले व्यावसायिक रुपमा सफलता हात पार्न सकेनन् । उनका फिल्मलाई समीक्षकले रुचाउन छाडेको त धेरै भइसक्यो, पछिल्लो समय दर्शकले पनि रुचाएको देखिएन । उनै पलले अभिनय गरेको फिल्म ‘मोहर’ यस वर्षको पहिलो रिलिज फिल्म बन्दैछ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा पलसँगै बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्माण पक्षले पलको ‘लुक्स’ झल्कने ‘मोहर’ का केही तस्बिर सार्वजनिक गरेको छ । तर, सार्वजनिक गरिएका ती तस्बिरमा पलको चरित्र देखिने भन्दा पनि पल स्वयं नै देखिने खालका छन् । पल र उनी अभिनित चरित्रमा खासै भिन्नता देखिएको छैन । उनले अन्य फिल्ममा देखाउने भाव र सार्वजनिक गरिएको तस्बिरमा देखिएको भिन्नता भनेको पोज र भेषभूषा मात्र हो ।
सामान्य शैलीमा पललाई हातमा भरुवा बन्दुक दिएर दर्शकमा कौतुहलता पैदा सिर्जना गर्नसक्ने निर्माण पक्षको विश्वास छ । तर, अघिल्ला फिल्म भन्दा भिन्न देखाउन निर्देशकले खासै मेहनत गरेको सार्वजनिक फोटोले प्रमाणित गर्न सकेको छैन । निर्माण पक्ष हल्काफूल्का सस्ता पब्लिसिटीमा नै पलको क्रेज बढाउन चाहेको देखिन्छ तर निर्माण पक्षले उनका पछिल्ला दुई फिल्म ’रावायण’ र ’मायावी’ को व्यापार हेर्नु जरुरी छ ।