कलाशैली संवाददाता । एक्शन थ्रिलर फिल्म ‘ग्राउण्ड जिरो’ ले ३८ वर्षपछि कश्मीरको श्रीनगरमा रेड कार्पेट प्रिमियर गर्दै छ । फिल्मको रेड कार्पेट प्रिमियर अप्रिल १८ अर्थात् आज श्रीनगरमा हुँदैछ, जुन पछिल्लो तीन दशकभन्दा लामो समयपछि श्रीनगरमा आयोजना हुने पहिलो फिल्म प्रिमियर हो । यसअघि त्यहाँ ३८ वर्षसम्म कुनै फिल्मको रेड कार्पेट प्रिमियर आयोजना गरिएको थिएन ।
यो ऐतिहासिक अवसरमा सीमामा खटिएका भारतीय सुरक्षा बलका जवान र सेनाका अधिकृतहरूलाई फिल्म पहिलोपटक देखाइनेछ । भारतीय मिडियाका अनुसार यो फिल्ममा देशभक्तिपूर्ण विषयवस्तुसँगै देशका सच्चा नायकप्रति श्रद्धाञ्जली अर्पण गरिएकाले श्रीनगरमा प्रिमियर गर्न सकिएको हो ।
‘ग्राउण्ड जिरो’ को कथा कश्मीरमै आधारित छ र फिल्मको सम्पूर्ण छायांकन पनि त्यहीँ गरिएको हो । फिल्ममा अभिनेता इमरान हाश्मीले बीएसएफ कमाण्डेन्ट नरेन्द्र नाथ धर दुबेको भूमिका निभाएका छन्, जसले आतंककारी गाजी बाबाको हत्या गर्ने अभियानको नेतृत्व गरेका थिए ।
गाजी बाबा जैश-ए-मोहम्मदका शीर्ष कमाण्डर थिए र उनलाई सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा भएको आतङ्कवादी आक्रमणको मास्टरमाइन्ड मानिन्छ । दुबेको नेतृत्वमा भएको सो अपरेशनलाई बीएसएफको ५० वर्षको इतिहासमा सबैभन्दा सफल कारबाहीका रूपमा उल्लेख गरिन्छ । तेजस देवस्करद्वारा निर्देशित ‘ग्राउण्ड जिरो’ २५ अप्रिलमा हलहरूमा रिलिज हुँदैछ ।
फिल्ममा इमरानसँगै साई तम्हणकर, जया हुसैन, मुकेश तिवारी, ललित प्रभाकर, सत्या प्रकाश, पुनित तिवारी, दीपक परमेश, राहुल वोहरा लगायतका कलाकारले अभिनय गरेका छन् ।