कलाशैली संवाददाता । भारतीय अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मा नियमित रूपमा सक्रिय छन् । आफ्ना फरक-फरक पोस्टमार्फत चर्चा बटुल्दै आएका बच्चन हाल आफ्ना फलोअर नबढेको विषयमा चिन्तित देखिएका छन् । हालै उनले एक पोस्टमार्फत फ्लोअर्स नबढेको गुनासो गरे ।
‘हामी धेरै प्रयास गरिरहेका छौं, तर ४९ मिलियन फलोअरको संख्या बढिरहेको छैन। कुनै समाधान छ भने हामीलाई भन्नुहोस्’, उनले सामाजिक सञ्जाल एक्समा लेखे । उक्त ट्विटसँगै बच्चनले आफ्ना फलोअरहरूबाट सुझाव मागेपछि, फ्यानहरूले प्रतिक्रिया जनाउन थालेका छन् । कसैले फलोअर बढाउने ट्रिक सुझाव दिए भने कसैले ढाडस दिएका छन् ।
बिग बीको यो ट्विटले सामाजिक सञ्जालमा प्रतिक्रिया पाएको छ । केही घण्टामै हजारौंले लाइक गरेका छन् भने ७ सयभन्दा बढी कमेन्ट आएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई फलोअर्सको संख्या होइन, उनको प्रभाव र योगदान महत्वपूर्ण रहेको सम्झाइरहेका छन् ।