कलाशैली संवाददाता । सशक्त अभिनय क्षमताका कारण स्थापित अभिनेता विपिन कार्की एक्सन अवतारमा भने दर्शकमाझ प्रभाव जमाउन असफल भएका छन् । उनको पछिल्लो फिल्म ‘कर्मा’ बक्स अफिसमा कमजोर प्रदर्शन गर्दै प्रदर्शनरत छ । सामाजिक यथार्थमा आधारित फिल्म र रङ्मगञ्चमा विपिनले आफूलाई अब्बल सावित गरिसकेका छन् । ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ र ‘जात्रा’ मा ‘फडिन्द्र’ जस्ता भूमिकाले विपिन फिल्मकर्मीसँग दर्शक माँझ परिचित भएका थिए । अभिनयमा जीवन्तता भर्न सक्ने क्षमताका कारण उनी दर्शकका रोजाइमा पर्ने अभिनेता मानिन्छन् ।
तर पछिल्लो समय विपिनलाई रकमी भएको आरोप लाग्ने गरेको छ । पहिले पात्र मन पराएपछि टिमसँगै फिल्म निर्माणमा सक्रिय हुने उनी अहिले भने आफूले चाहेको पारिश्रमिक पाउने भएपछि मात्र फिल्म साइन गर्ने गरेका छन् । यसले उनको भूमिकाको छनोटमा असर पारेको देखिन्छ ।
एक्सन हिरोको रूपमा प्रस्तुत गरिएको ‘कर्मा’ ले न दर्शक न समीक्षकलाई चित्त बुझाउन सक्यो । समीक्षकहरूले फिल्मको कथा, निर्देशन र सम्पादनमा कमजोरी औंल्याएका छन् भने विपिनको एक्सन अवतारप्रति पनि खासै उत्साह देखाएका छैनन् । उनका नजिकका फिल्मकर्मी र रङ्गकर्मीहरूले समेत फिल्ममा उल्लेखनीय प्रशंसा नगरेपछि, यो प्रयास अपेक्षा अनुसार सफल नभएको विश्लेषण गरिएको छ ।
फिल्म ‘कर्मा’ का निर्देशक सौरभ चौधरी यसअघि ‘अगस्त्य: च्याप्टर वान’ बाट एक्सन फिल्म निर्देशनमा आशालाग्दो सम्भावना बोकेका निर्देशकका रूपमा देखिएका थिए । सोही कारण देशभरका हलले फिल्म ‘कर्मा’ लाई प्रारम्भमा झन्डै १ सय २४ शो उपलब्ध गराएका थिए । तर, न अग्रिम बुकिङ राम्रो भयो, न त फिल्मले बम्पर ओपनिङ नै गर्न सक्यो । प्रदर्शनको छैटौं दिनसम्म फिल्मले जम्मा २४ लाख ९३ हजार ९ सय ११ रुपैयाँ मात्र ग्रस कलेक्सन गर्न सकेको छ, जुन अत्यन्तै कमजोर व्यापार हो ।
रिलिज नजिकिँदै गर्दा फिल्म युनिटले लोकप्रिय गायक सुशान्त केसी र दुर्गेश थापालाई ओएसटीमा गवाएर प्रचारमा बल दिएको थियो । गीतले युट्युबमा राम्रै चर्चा बटुल्यो, तर त्यो चर्चा हलसम्म तान्न सकिएन ।
यद्यपि, फिल्मको असफलता प्रत्यक्षरूपमा कलाकारको क्षमतासँग जोडिदैन। तर, विपिनजस्तो अब्बल अभिनय गर्ने कलाकारको हकमा भने, उनी दर्शकमाझको प्रभाव कम हुँदै गएको त होइन ? भन्ने प्रश्न खडा हुन थालेको छ । सामाजिक कथावस्तुमा रुचाइएका उनले पछिल्लो समय अभिनय छनोटमा देखाएको परिवर्तनले उनीप्रति दर्शकको अपेक्षा घट्दो छ भन्ने संकेत गर्न थालेको छ ।