कलाशैली संवाददाता । प्रदर्शकले फिल्मलाई उचित शो सङ्ख्या उपलब्ध नगराएको गुनासो नौलो रहेन । तर गएको वर्ष २०८१ मा निर्देशक तथा निर्माता निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई शोजमा विभेद गरेको भन्दै चल्दाचल्दै हलबाट झिके । पछि लगत्तै ओटीटी रिलिज गरिदिए ।
यस अगाडि पनि निश्चलले विदेशी फिल्म सरह शो सङ्ख्या र फिल्म प्रदर्शन भएसम्म बराबर व्यापार बाँडफाट हुनुपर्ने अडान राख्दै फिल्म ‘दिमाग खराब’ को प्रदर्शन पनि रोक्ने चेतावनी दिएका थिए । अभिनेता प्रदीप खड्काले पनि ‘प्रकाश’ प्रदर्शन ताका प्रदर्शकले उचित शो नदिएको भन्दै पत्रकार सम्मेलन नै गरेर हंगामा मच्चाएका थिए ।
बेलाबखतमा सार्वजनिक हुने यी विवादसँगै निर्माताले उचित शो नपाएको गुनासो गरिनै रहेका हुन्छन् । जबकि चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घमा निर्मातासमेत रहेका प्रदर्शकको संख्या उल्लेख्य नै छ । यसका अध्यक्ष नरेन्द्र महर्जन स्वयंले ‘लूट’ निर्माण गरेका हुन् । के उनले पनि निर्माताको भावना बुझ्न नसकेकै हुन् त ? अध्यक्ष महर्जन भने आफूहरुले दर्शकको रोजाई र माग अनुसार नै हलमा शो सङ्ख्या घटबढ गराउने गरेको बताउँछन् ।
‘सुरुआती समयमा केही हल नेटवर्कले आफ्नो पोलिसी अनुसार काम गरेको पाइन्छ, तर फिल्मले दर्शक पायो भने शो नबढाउने प्रदर्शक (हलवाला) हुँदैनन् । गएको दसैँमा दीपकजी (दीपकराज गिरी) ले आफ्नो हलमा आफ्नै फिल्म छक्का पञ्जा ५ को शो घटाएर सँगै रिलिज भएको फिल्म १२ गाउँको शोज बढाउनु भयो । हामी व्यवसाय गर्न आएका हौँ, हामीले कसैलाई विभेद गर्दैनौं’, उनले भने ।
अध्यक्ष महर्जनले फिल्मको प्रचारमा पनि हलवालाले सघाउने गरेको बताए । उनले १५ दिन ट्रेलर बजाएको र पोस्टर राखेको शुल्क निर्मातासँग नलिने गरेको जानकारी दिए । ‘हामीले निःशुल्क ट्रेलर देखाउने सुविधा दिने हो भने तीन/चार महिना अगाडिदेखि नै भिडियो सामग्री आउँछ, त्यो बेला नाई भन्न गाह्रो हुन्छ । तर हामीले पोस्टर लगायतका सामग्रीमा शुल्क लिने गरेका छैनौं’, अध्यक्ष महर्जनले कलाशैलीसँग भने ।
उनले नेपालभरका सम्पूर्ण हलमा बक्सअफिस सिस्टम जडान भएकाले अब वितरकले दिने कलेक्सन रिपोर्ट र बक्सअफिस रिपोर्टमा फरक नपर्ने बताए । त्यसैगरी, निर्माताले हल व्यापारको रकम समयमा नपाएको गुनासो गरिरहँदा महर्जनले केही हलले फिल्म प्रदर्शन गरेपछिको रकम निर्माता, वितरकलाई पठाउन ढिलाई गर्दा सङ्घले अग्रसरता लिएको दाबी गर्छन् ।
‘हाम्रो सबै सदस्यको एकनासको व्यवहार छ भन्न सक्दिनँ तर निर्माताले वितरकमार्फत बिल उपलब्ध गराएको १५ दिनमा भुक्तानी गर्न सङ्घले पनि हललाई निर्देशन दिने गरेको छ । त्यो समस्या अहिले छिटपुट देखिने गरेको छ’, उनले भने ।