कलाशैली संवाददाता । ‘सक्कीगोनी’ टेलीसिरियलमार्फत लोकप्रिय हासिल गरेको टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । गएको फागुन १४ मा प्रदर्शन भएको कुमार कट्टेल निर्देशित फिल्मले बिहीबार काठमाडौंका क्यूएफएक्स, आइएनआई चेनसहित एफक्युब, कीर्तिपुर, बीएसआर, रञ्जना, बिग, सीडीसीसहित दमक र बुटवलका हलमा ५१ औँ दिन पुरा गरेको हो।
फिल्मले प्रदर्शनका हिसाबले ५१ औँ दिन पुरा गरेता पनि व्यावसायिक रुपमा सुखद परिणाम भने ल्याउन सकेको छैन । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्म ५१ दिनसम्म देशब्यापी ४ करोड ५२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ ।
‘लाज शरणम्’ भन्दा दुई सातापछि फागुन २९ मा प्रदर्शन भएको ‘अञ्जिला’ ले यसको भन्दा दोब्बर व्यापार गरिसकेको छ । त्यसकारण फिल्म ‘लाज शरणम्’ ले प्रदर्शनको ५१ औँ दिन पार गर्ने बाहेकको अन्य उपलब्धी भने प्राप्त गर्न सकेको छैन ।
सीताराम कट्टेलले अभिनयमा पुनरागमन गरेको यो फिल्मले सुन तस्करीको जालोदेखि समसामयिक राजनीतिक प्रवृत्तिलाई ब्यंग्य गरेको छ । यद्यपि टेलीरिरियल पाएको लोकप्रियताले दर्शकलाई हलसम्म भने आकर्षित गर्नसकेन । फलत सुरुआती व्यापार आक्रामक भएता पनि विस्तारै हलमा अकुपेन्सी घट्दै गयो । फिल्ममा सीतारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा लगायतको अभिनय छ ।