कलाशैली संवाददाता । फिल्म ‘हँसिया’ मार्फत फिल्म निर्देशनमा होमिएका मिलन चाम्सको पछिल्लो फिल्म ‘अञ्जिला’ सफलताको बाटोमा अघि बढिसकेको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म निर्देशन गरेपछि उनले आफ्नो कार्यशैलीमै परिवर्तन ल्याउने भएका छन् । वितरक करण श्रेष्ठ भने वैशाख १ सम्ममा १० करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको दाबी गर्छन् ।
खेलाडीको विषयमा बनेको फिल्मले सफलता पाएपछि आफूले मेकिङको शैलीमा परिवर्तन ल्याउने निर्देशक चाम्सले बताए । उनले भने,‘मैले निर्देशन गर्ने प्रायः फिल्म सिनेम्याटिक हुने गर्छन्, अर्थात् फिल्मी । कल्पनाको संसार सुन्दर र भव्य होस् भन्ने सोच्थें, त्यहि अनुसारको प्रस्तुतीकरणदेखि संवाद बोल्ने शैली हुन्थ्यो । तर अञ्जिलाको सफलताले मलाई फिल्म र त्यसका पात्र वास्तविकतासँग नजिक हुनुपर्छ भन्नेमा विश्वस्त बनाएको छ । मैले फिल्ममा देखाउने दृश्य वास्तविकतामा सम्भव छ की छैन् ? म त्यसमा केन्द्रीत हुन थालेको छु ।’
मिलनले आगामी फिल्म ‘सुम्निमा’ मा आफू नयाँ शैलीमा प्रस्तुत हुने बताए । उनले पात्रको संरचनासँगै प्रस्तुतीकरणमा पनि नयाँ शैली अपनाउने सोच बनाएका छन् । ‘यो फिल्म मेरो अघिल्ला फिल्म भन्दा फरक हुन्छ । किनकि मैले अञ्जिलामा गरेको प्रयोग सफल भएपछि अबका फिल्ममा दर्शकलाई पात्रसँग भावनात्मक रुपमा जोड्ने गरी प्रस्तुती दिने छु, नयाँ वर्षदेखि नयाँ शैलीमा काम गरिरहेको छु भन्दा फरक नपर्ला’, निर्देशक चाम्सले भने । आगामी जुलाईदेखि बेलायत र नेपालमा छायांकन हुने फिल्ममा उनले प्रेमकथालाई प्रस्तुत गर्दैछन् ।