• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

२०८२ मा नेपाली फिल्म : फैलिएको बजारमा फस्टाउने संकेत

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १८:१३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । वर्ष २०८१ फिल्म क्षेत्रका लागि धेरै अर्थमा स्वर्णिम रह्यो । यसअघि हास्य विधाका फिल्मले बढि सफलता पाईरहेको सन्दर्भमा कमेडी फिल्म निर्माणमा बढि केन्द्रित भईरहेका फिल्मकर्मीका लागि २०८१ मा दर्शकले मनोरन्जनात्मक र राम्रा फिल्म भएमा जुनसुकै विधाका फिल्म पनि रुचाइन्छ भन्ने प्रमाणित गरिदिए । ‘छक्कापन्जा ५’ को सफलता प्रतिक्षित नै रहे पनि २०८१ मा विषयप्रधान फिल्म बक्सअफिसमा हाबी देखिए ।

    महिला कलाकार केन्द्रीय भूमिकामा रहेको बोक्सीको घरको सफलतादेखि एक्सन स्टारको छवी बनाएर उदाएका समीर भट्ट अभिनित ‘१२ गाउँ’ ले बक्सअफिस तताईरहेका बेला चरित्र अभिनेताको छवी बनाएका बिजय बराल अभिनित ‘पूर्णबहादुरको सारंगी’ को रेकर्डतोड सफलताले फिल्म चलाउन केवल स्टारमा मात्रै भर पर्नु नपर्ने देखाईदियो । त्यसमा कमेडियन छवी बोकेका जितु नेपालको ज्वाइँसाबले पनि थपथाप गरिदियो । यसैको परिदृश्य हाल बन्दै गरेका र रिलिज हुन लागेका फिल्मको सूची हेर्दा २०८२ साल नेपाली फिल्म क्षेत्रका लागि थप विविध र बहुआयामिक हुने निश्चित प्रायः छ । देशदेखि विदेशसम्म बढेको नेपाली फिल्म बजारको आयातनले २०८२ मा स्वदेशी फिल्मले थप फक्रन पाउने बलियो संभावना छ ।

    गत वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले घरेलु बक्सअफिसमा इतिहास रच्न सफल भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) मा यसले ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले २०८१ सालमा मात्रै नभई नेपाली फिल्मको इतिहासमै ‘रेकर्ड’ दाखिला गरिदियो ।

    संख्यात्मक हिसाबले हेर्दा नेपाली फिल्मको निर्माण सन्तोषजनक रहे पनि गुणस्तर र बजारका हिसाबले आधा शताब्दी भन्दा बढि समयको इतिहास बोकेको नेपाली फिल्म क्षेत्र अझै बामे सर्न सकिरहेको छैन । तर २०८१ ले फिल्म बजारको आयतनलाई फैलाउन सफल रह्यो, देशभित्र र बाहिरका नयाँ दर्शकहरु पनि थपिए । अबको चुनौती ती दर्शकलाई दोहोर्याएर हलसम्म ल्याउनु र फिल्मको प्रवर्द्धन गराउनु हो ।

    यस वर्षका लागि प्रदर्शन निश्चित गरिसकेका फिल्मको सूची हेर्दा वर्ष २०८२ फिल्मक्षेत्रका लागि बहुआयामिक हुने अनुमान गर्न सकिन्छ । व्यवसायिकसँगै कलात्मक फिल्मका लागि यो वर्षले छुटै छाप छाड्न सक्ने फिल्मकर्मीको विश्वास छ ।

    यो वर्ष दर्शकले ‘जारी’ को सिक्वेल हेर्न पाउनेछन् । अघिल्लै फिल्मको अन्त्यबाट कथा उठान गरी ‘जारी २’ अघि बढ्ने निर्देशक उपेन्द्र सुब्बाले बताए । उनले भने, ‘जहाँ ‘जारी’ को कथा सकिएको थियो, त्यहिँबाट ‘जारी २’ अगाडि बढ्छ । यसपटक ‘जारी’ को भन्दा सातवर्षपछिको टाइम फ्रेममा ‘जारी २’ हेर्न पाउनु हुनेछ ।’

    पहिलो निर्देशकीय फिल्मले ब्लकबष्टर व्यापार गरेपछि केही दायित्व बढेको महसुस भने निर्देशक सुब्बाले पनि गरेका छन् । तर, साहित्य विधाबाट फिल्म लेखन हुँदै निर्देशनमा होमिएका सुब्बाले आफ्ना हरेक काममा चुनौतीको महसुस गर्ने गरेका छन् । ‘मैले नयाँ कविता लेख्दा पनि पछिल्लोको सफलता वा असफलताको प्रभाव पर्न दिन्नँ र त्यसमा गरिने मेहनत नयाँ झैँ हुन्छ । फिल्ममा पनि यही शैली अपनाएको छु’, निर्देशक सुब्बाले भने ।

    उनले दयाहाङ राई, विजय बराल, मिरुना मगरसँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहने बताए । व ‘छक्का पञ्जा’, ‘जात्रा’ को सिक्वेल भने दर्शक हेर्न पाउने छैनन् ।

    ‘छक्कापन्जा’ सिरिजको सफलता बोकेका निर्माता, अभिनेता तथा लेखक दीपकराज गिरीले भने आउँदो तीन वर्षसम्म ‘छक्का पञ्जा’ को शृङ्खला ल्याउने कुनै तयारी नरहेको बताए । बरु आफ्नो ब्यानर भन्दा बाहिरका केही प्रोजेक्टमा भने काम गर्न सक्ने बताए ।

    ‘केही प्रोजेक्टका लागि कुरा हुँदैछ, केहीका लागि छलफल हुँदैछ । तर, यही भन्ने तय भएको छैन’, उनले भने । उनी आफ्नो पछिल्लो फिल्म ‘छक्का पञ्जा ५’ को प्रदर्शनको क्रममा देखिएको अस्वस्थ प्रतिस्पर्धादेखि खुसी छैनन् । यस्ता गतिविधीले नेपाली फिल्म प्रवद्र्धन गर्न र बजारको आकार बढाउन नसघाउने उनको बुझाइ छ ।

    ‘विदेशी फिल्म पनि ठूला आउँदा दुई भन्दा बढी आउँदैनन्, किनकि त्यसले बजार र फिल्म क्षेत्रलाई कालान्तरमा असर गर्छ । तर, यहाँ विदा भयो भने मात्र फिल्म चल्छ भन्ने मान्यता स्थापित भयो । फिल्म राम्रो र विदा पनि छ भने धेरै दर्शकले हेर्ने चाही हो, तर फिल्म राम्रो छैनन् भने त्यो दर्शक क्षणिक हुन्’, उनले भने ।

    यो वर्ष दसैँमा फिल्म ‘हरिबहादुरको जुत्ता’ लिएर आउदैछन्, हरिवंश आचार्य । त्यस अगाडि उनको फिल्म ‘भूठान’ वैशाख मै प्रदर्शन हुँदैछ । तर, दसैँमा प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ मा उनको लगानी पनि छ । पछिल्लो वर्षमा दर्शकको रोजाई कन्टेन्टमा देखिएकाले आशावादी छन् ।

    ‘दर्शकले स्टारडम भन्दा कन्टेन्टलाई रुचाउनु भएको पाईयो । विषयवस्तु सशक्त छ भने त्यसले दर्शकलाई ढिलो चाँडो आकर्षित गरेको उदाहरण प्रसस्तै छन् । त्यसकारण यो वर्ष धेरै आशावादी हुने ठाउँ छन्, विशेषतः स्टारडम भएका कलाकारसँगै विषय प्रधान भए सुनमा सुगन्ध हुन्छ’, उनले भने ।

    यसवर्ष मह सञ्चारबाट फिल्म निर्माण गर्ने भन्दा पनि आएका प्रस्तावमा अभिनय गर्ने सोच रहेको अभिनेता आचार्यले बताए । यो वर्ष अभिनेता निखिल उप्रेती पनि फिल्म निर्माण, निर्देशन तथा अभिनय गर्दैछन् । उनले द्वन्द्व विधामै रहेर फिल्म निर्माण गरेता पनि त्यसमा वैचारिक द्वन्द्व पनि पाइने बताए । फिल्म छायांकनको तयारीका लागि उनले नेपालसँगै भारतको केही लोकेसन पनि हेरिसकेका छन् ।

    ‘जेठदेखि फिल्मको छायांकन गर्ने तयारी गरिरहेको छु । भिन्न कथा र शैलीको चलचित्र दर्शकलाई दिने तयारी गरिरहेको छु, किनकि दर्शकलाई हलसम्म दोहोर्याउन नियमित भन्दा केही फरक गर्नु जरुरी छ’, उनले भने । उनी झन्डै ६ वर्षपछि फिल्मकर्ममा फर्किन लागेका हुन् । यस वर्ष निखिल झैँ निर्देशक तुलसी घिमिरे पनि फिल्म ‘पहाड’ लिएर दर्शकसामु आउदैछन् । झन्डै आठ वर्षपछि निर्देशक घिमिरे पनि निर्देशनमा फर्किएका हुन् ।

    ‘केही समय बनिरहेका फिल्मको बारेमा अध्यन गरें, त्यसपछि नेपाली परिवेश सुहाउँदो कथालाई फिल्ममा उतार्न तयार भएको हुँ । हामीसँगै महङगा बजेटमा बनेका विदेशी फिल्म पनि प्रदर्शन हुन्छन्, त्यसैले हामीले उनीहरू भन्दा भिन्न कथालाई दर्शक माँझ पुर्याउनु पर्छ । हाम्रो मौलिक कथा र भावनात्मक विषयले हामीलाई धेरै दर्शकसम्म पुर्याउन सक्छ’, निर्देशक घिमिरेले भने ।

    उनले ‘पहाड’ कत्तिक ७ गते प्रदर्शन हुने घोषणा गरेका छन् । पुरानो पुस्ताका कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापासँगै विपिन कार्की र अरुण क्षेत्री जस्ता नयाँ पुस्तासँग काम गर्दा आफू उत्साहित रहेको उनले बताए । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्री र जेठी छोरी भावना घिमिरेलाई प्राविधिक टिममा ‘प्रोडक्सन डिजाइनर’ को जिम्मेवारी दिएका छन् । सन्तानले फिल्मकर्म रोज्दा अन्य पेसाकर्मी झैँ निर्देशक घिमिरे पनि उत्साहित छन् ।

    अभिनेत्री केकी अधिकारी वर्ष २०८२ मा प्रदर्शन हुने फिल्ममा विविधता देख्न पाइनेमा आशावादी छिन् । अघिल्लो वर्ष घोषणा र छायांकन गरिएका फिल्म हेर्दा यो वर्ष नयाँपन र मौलिकतासँगै भव्यता पनि पाइने अभिनेत्री अधिकारीले बताइन् । ‘अघिल्लो वर्ष फिल्मको विषयलाई दर्शकले हिरो बनाए । यो हाम्रो लागि सुखद खबर थियो । त्यसकारण पनि यो वर्ष फिल्ममा कलाकारसँगै विषयमा निर्माताले लगानी गरेका छन् । म एउटा फिल्मकर्मीका हिसाबले जती उत्साहित छु, दर्शकमा पनि त्यहि नै उत्साह छ भन्ने विश्वास छ’, उनले भनिन् ।

    गत वर्ष २०८१ को पहिलो फिल्मका रुपमा उनले निर्माण गर्नुभएको ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो । यसमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा प¥यो । उक्त फिल्मलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएता पनि अकल्पनीय व्यापार गर्‍यो ।

    ‘बक्सअफिस’को तथ्यांकअनुसार यसको घरेलु बजारमा रु १० करोड २ लाखको व्यापार भएको छ । त्यसकारण गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । अभिनेत्री अधिकारी पनि यस वर्ष आफ्नो निर्माण रहने फिल्मको छायांकन गर्ने र आउँदो वर्ष प्रदर्शन गर्ने तयारीमा छिन् । समग्रमा यस वर्षलाई फिल्मकर्मीले ठूलो आशाका साथ स्वागत गरेक छन् ।

    अनमोल केसीको ‘जेरी अनटप’, समीर भट्टको ‘बलिदान’, दिनेश राउतको ‘महाभोज’, दीपेन्द्र के खनालको ‘के घर के डेरा : घर नम्बर २’, केदार घिमिरेको ‘माग्ने राजा’, अशोक शर्माको ‘डबल ट्रिपल’ लगायतका आश गरिएका फिल्महरू प्रदर्शन हुँदैछन् । यसका साथै वर्षकै पहिलो दिन निर्माण तथा प्रदर्शन घोषणा गरिएको फिल्मको सङ्ख्याले पनि फिल्मकर्मी उत्साहित रहेको संदेश दिएको छ ।

    Post Views: 150
    • Kala Saili News
    • Kala Saili Update
    • Year Preview 2082
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १८:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?
    ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.