कलाशैली संवाददाता । रोहित अधिकारी फिल्म्स प्रालिको ब्यानरमा निर्मित फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत रिलिज गरिएको ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र स्वर्गीय जयदेवको सङ्गीत छ । यो गीत पुरानो नेपाली फिल्म ‘माइतीघर’को चर्चित गीतको रिमेक हो, जसमा मूल रूपमा आशा भोस्लेको स्वर थियो ।
निर्माता रोहित अधिकारी र उनको टिमले यो गीतलाई पुनः बजारमा ल्याएका हुन्।गीतको भिडियोमा नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । कविराज गहतराजको लोभलाग्दो कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको भिडियोले हरेक शब्द सुहाउँदो लोकेशन छनोट गरी दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेका छन् भने रामशरण पाठकको लेखन र चन्द्रकुमार दोङको कथा छ । फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारको अभिनय छ ।
फिल्म असोज १३ गते दसैँको फूलपातीबाट रिलिज हुँदैछ । गीतको भिडियो प्रतियोगितासमेत घोषणा गरिएको छ, जसअनुसार ४० सेकेन्डदेखि २ मिनेटको भिडियो बनाउने उत्कृष्ट एक दर्शकलाई ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ । निर्माता रोहित अधिकारीले यो प्रतियोगिताले दर्शकको रचनात्मक सहभागिता बढाउने विश्वास व्यक्त गरेका छन् ।





