कलाशैली संवाददाता । नेपाली फिल्म ‘महाभोज’को विश्व प्रिमियर अस्ट्रेलियाको पर्थमा हुने भएको छ। नेपालमा गणतन्त्र दिवसको अवसरमा जेठ १५ मा प्रदर्शन गर्ने तयारी भए पनि सम्भावित राजनीतिक अस्थिरता र आन्दोलनको जोखिमका कारण रिलिज स्थगित भएको छ । यही कारणले फिल्मको प्रिमियर आगामी जुन १ मा पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा साँझ ६ बजे भव्य रूपमा आयोजना हुँदैछ । प्रिमियरको व्यवस्थापन रोटेपिङ इन्टरटेन्मेन्ट र स्थानीय आयोजकले गरेका छन् ।
दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ले सहकारी ठगीबाट प्रभावित परिवार र समाजमा त्यसको असरलाई मनोरञ्जनात्मक र भावनात्मक रूपमा प्रस्तुत गर्छ । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा हिमाल कडरियाले निर्माण गरेको यो फिल्म सामाजिक यथार्थमा आधारित छ । नेपालमा संवेदनशील परिस्थितिका कारण प्रदर्शन रोकिए पनि अस्ट्रेलियाको प्रिमियर यथावत् छ । छोटो तयारी समयका कारण प्रमुख कलाकार र निर्देशक प्रिमियरमा सहभागी नहुने भए पनि पछि अन्य सहरका शोहरूमा उपस्थित हुने बताइएको छ ।





