कलाशैली संवाददाता । भारतीय ‘कल्ट क्लासिक’ कमेडी फिल्म ‘हेरा फेरी’को तेस्रो श्रृंखला ‘हेरा फेरी ३’ निर्माणको चर्चा चलिरहँदा ठूलो खबर बाहिरिएको छ । फिल्मका प्रतिष्ठित पात्र बाबू राव गणपत राय आप्टे अर्थात् अभिनेता परेश रावलले यो श्रृंखलामा काम नगर्ने निर्णय गरेका छन् । सन् २००० मा रिलिज भएको ‘हेरा फेरी’ र यसको सिक्वेलमा परेशको बाबू राव पात्रले दर्शकको मन जितेको थियो । तर, ‘हेरा फेरी ३’ मा उनको अनुपस्थितिले फ्यानहरू निराश भएका छन् ।
परेशले मेकरहरूसँग सृजनात्मक मतभेदका कारण फिल्म छाडेको बताएका छन् । बलिउड हङ्गामासँगको कुराकानीमा उनले भने,‘म अब ‘हेरा फेरी ३’ मा काम गर्दिनँ।’ यद्यपि, फिल्मको इतिहासमा पहिले पनि ‘ट्विस्ट एन्ड टर्न’ देखिएकोले परेश फर्किन सक्ने आशा विश्लेषकहरूले गरेका छन् । सन् २०२२ मा अक्षय कुमारले पनि फिल्म छाड्ने घोषणा गरेका थिए, तर पछि फर्किए । त्यसैले परेशको पुनरागमनको सम्भावना पनि कायमै छ ।
प्रियदर्शनको निर्देशनमा बन्न लागेको ‘हेरा फेरी ३’ को छायांकन अझै अन्योलमा छ । परेशको बहिर्गमनले तत्काल छायांकन सुरु हुने सम्भावना कम देखिन्छ, यद्यपि फिल्मको मुहूर्त सट सम्पन्न भइसकेको छ । फिल्ममा अक्षय कुमार र सुनिल सेट्टी क्रमशः राजु र श्यामको भूमिकामा फर्किँदै छन्, जसको केमेस्ट्री अघिल्ला श्रृंखलाहरूमा दर्शकले खुब रुचाएका थिए ।
परेशको अनुपस्थितिमा ‘हेरा फेरी ३’ ले पुरानो जादु कायम राख्न सक्ला कि नसक्ला, यो प्रश्नले फ्यानहरूमा कौतुहलता बढाएको छ ।





