कलाशैली संवाददाता । दसैंको फूलपातीबाट प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ ले घरेलु बक्सअफिसमा अपेक्षित व्यापार गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @सिनेपा’ एपको तथ्यांक अनुसार यी फिल्महरूको दुई दिनको ग्रस कलेक्सन कम देखिएको छ ।
सन्तोष सेनद्वारा निर्देशित फिल्म ‘बलिदान’ ले दुई दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो दिन (असोज १३) २ सय ४४ शोबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन (असोज १४) २ सय १३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको हो । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ ।
दीपेन्द्रकुमार खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ ले दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो दिन (असोज १३) १ सय ३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन समान १ सय ३४ शोबाट ३४ लाख ७३ हजार रुपैयाँ ग्रस व्यापार गरेको हो । फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । हरिवंशले टेलिसिरियल र रंगमञ्चमा चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक फिल्ममा प्रस्तुत गरेका छन् ।
मिलन तामाङद्वारा निर्देशित र रोहित अधिकारीद्वारा निर्मित फिल्म ‘माइतीघर’ ले दुई दिनमा ३८ लाख ६३ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो दिन (असोज १३) १ सय ४४ शोबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १ सय ३० शोबाट १९ लाख ६७ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । फिल्ममा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपूत लगायतका कलाकारको अभिनय छ ।
पछिल्ला वर्षहरूमा दसैंमा नेपाली फिल्मको व्यापार राम्रो हुने गरेको भए पनि यसपटक यी तीन फिल्मले अपेक्षित दर्शक तान्न नसकेको देखिन्छ ।





