कलाशैली संवाददाता । गएको भदौ ६ बाट प्रदर्शनमा आएको फिल्म ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा रहेका कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ ले ६१ लाख पारिश्रमिक लिएको भन्दै चर्चामा आए । फिल्मका निर्माता मुनाल घिमिरेले ५१ दिएको दाबी गरे । पछि केदारले पैसा नलिएको भन्दै खण्डन समेत गरे । यी यस्तै कारण चर्चामा रहेको फिल्म ‘माग्ने राजा’ ले चलचित्र विकास बोर्डका अनुसार, असोज पहिलो सातासम्म ४ करोड ७० लाख ग्रस कलेक्सन गरेको छ ।
केदारलाई स्थापित गराउने पात्र ‘माग्ने बूढा’ लाई शीर्ष भूमिकामा राखेर बनाइएको फिल्म बक्स अफिस कमाल देखाउन भने सकेन । त्यसो त फिल्मको विषयवस्तुलाई दर्शकसम्म ल्याउन नसक्नु नै निर्माण पक्षको मुख्य कमजोरी भयो । गएको भदौ २३ र २४ गरे जेनजी पुस्ताको आन्दोलन पश्चात गठन भएको चुनावी सरकारले समेत चर्चामा ल्याएको ‘राइट्स टू रिजेक्ट’ को विषयलाई फिल्ममा उठाईएको छ ।
तर, निर्माण पक्षले यस्तो संवेनशील विषयलाई समेत दर्शकलाई जानकारी गराउन सकेन् । परिणाम स्वरूप फिल्मलाई दर्शकले ‘हल्का रमाइलो’ कै रुपमा बुझे । फिल्ममा विषय खोज्ने दर्शकले हलसम्म आउने जाँगर नै देखाएनन् ।
बक्स अफिसबाट मात्रै फिल्मको लगानी उठ्न चुनौतीपूर्ण देखिए पनि डिजिटल राइट्स र डायस्पोरा राइट्सबाट निर्माताले मुनाफा नै आर्जन गरेका छन् । तर, घरेलु बजारमा हुने व्यापारमा भने निर्माण पक्षले चासो देखाएनन् । समीप्याराज तिमल्सेनाको लेखन तथा ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता घिमिरेसँगै विल्सन विक्रम राई, शारदा गिरी, वर्षा सिवाकोटी, आर्यन सिग्देल लगायतका कलाकारले अभिनय गरेका छन् ।





