कलाशैली संवाददाता । मङ्सिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ मा समावेश पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरिएको छ । डेब्यू निर्देशक एकता पौडेलद्वारा निर्देशित यो फिल्मको गीतले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । एलिस कार्कीको संगीतमा तयार यो गीतमा प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ ।
पवित्रा घिमिरेले रचना गरेको गीतको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन् । आलोक शुक्लाद्वारा खिचिएको गीतको भिडियोमा फिल्मका अधिकांश कलाकार फिचर छन्, जसमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ र लुनिभा तुलाधर समावेश छन् । पारिवारिक जमघटको रमाइलो माहोलमा तयार यो गीत नृत्यप्रधान छ र नेपाली दर्शकका लागि विभिन्न उत्सवमा नाच्न सकिने खालको छ ।
लामो समयपछि नेपाली फिल्ममा यस्तो धमाकेदार गीत आएको छ, जसमा आमा, बुबा, दाजु, दिदी, भाइ, बहिनी सबैले सँगै रमाइलो गर्न सक्छन्। गीतको भिडियोमा सबै कलाकारलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ, जसले फ्युजन नृत्यको जीवन्त माहोल सिर्जना गरेको छ । यो गीत सकारात्मक ऊर्जा फैलाउने खालको छ ।
निर्माण टिमले यो गीत नेपालीहरूको हरेक खुशीको जमघटमा प्रिय बन्ने विश्वास व्यक्त गरेको छ । फिल्म ‘हर्ष’ प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् भने हिक्मत चोखाल कार्यकारी निर्माता छन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा बनेको यो फिल्मको कथा निर्देशक पौडेलले लेखेकी हुन् ।
दिवंगत निर्देशक शिव रेग्मीकी भान्जीसमेत रहेकी पौडेलले यो फिल्ममार्फत रेग्मीको विरासतलाई सशक्त रूपमा निरन्तरता दिने अपेक्षा गरिएको छ । न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ र आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्वमा स्नातकोत्तर गरेकी पौडेलले यसअघि केही छोटा फिल्महरू बनाइसकेकी छन् ।
चितवनमा छायांकन गरिएको यो फिल्म हाल पोस्ट-प्रोडक्सनको चरणमा छ । निर्देशक पौडेलले आफू र आफ्नो टिमले दर्शकलाई उत्कृष्ट फिल्म पस्किने बताएकी छन् । ‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ । गीतमा स्वर्गीय शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काको शब्द रचना छ।





