कलाशैली संवाददाता । आगामी दसैँलाई लक्षित गर्दै फूलपातीदेखि तीन नयाँ नेपाली फिल्म प्रदर्शन हुने घोषणा गरिएको छ । उक्त मितिमा प्रदर्शन घोषणा भएको अन्तिम फिल्म ‘अभिमन्यु : च्याप्टर १’ ले शो नपाएपछि असोज २४ लाई प्रदर्शन घोषणा गरेको छ । अब असोज १३ मा अर्थात फूलपातिमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ रिलिज हुनेछन् ।
तीनै फिल्मले दसैँ विदालाई नै रोज्नुको कारण फिल्म ठीकठाक भएपनि व्यापार राम्रो हुने अपेक्षा राखेको हुनसक्छन् । अघिल्लो वर्षको दसैँमा प्रदर्शन भएको दुई फिल्मले दश करोड माथिको ग्रस कलेक्सन गरेपछि मेकर्सको आँखामा दसैँ परेको छ । त्यसो त अपेक्षा गरिएको वा राम्रो फिल्म एकल डेटमा आउँदा शो सङ्ख्यासहित विविध फाइदा हुन्छ । तर, यहाँ निर्मातालाई विदाको लाभ लिनु छ । फिल्मको रिभ्यू जस्तो आएपनि विदाले घाटा हुन् दिदैन भन्ने सोच मेकर्समा हावी हुँदा दसैँमा फिल्मको भिडभाड बढिरहेको छ ।
दसैँमा प्रदर्शन हुने ‘बलिदान’ चर्चा अन्यको तुलनामा बढी छ । फिल्मको हाइप निर्देशक तथा निर्माता सन्तोष सेनले क्रिएट गर्न सफल भएका छन् । हुन् त उनले कन्टेन्ट भन्दा पनि फिल्मको चर्चामा बढी ध्यान दिन्छन् । त्यसैले उनको फिल्मको सुरुआती व्यापार आक्रामक भएपनि विस्तारै घट्दै जान्छ । सन्तोष लगानी गर्न नहिच्किचाउने निर्माता भएपनि उनले आफूलाई निर्देशनमा प्रमाणित गर्न सकेका छैनन् ।
उनले यसपटक समीर भट्टलाई लिएर दक्षिण भारतीय फिल्मको झल्को दिने कोसिस गरेका छन् । निर्माताको रुपमा उनले गरेको आटलाई प्रसंसा गर्नै पर्छ । तर, निर्देशकीय पाटोमा उनले ‘केजीएफ’ कै दृश्यलाई उतार्न खोजेका छन् । सार्वजनिक ट्रेलरमा उनले दक्षिण भारतीय फिल्मको शैली ल्याउन खोजेता पनि प्रस्तुतीकरणमा चुकेका छन् । फलत: फिल्मले सुरुआती व्यापार आक्रामक गरेता पनि दर्शक सन्तुष्ट भएनन् भने त्यहि रफ्तारमा व्यापार घट्ने सम्भावना हुन्छ । दसैँमा स-परिवार फिल्म जाने प्रचलनमा यो फिल्म हिंसात्मक देखिएकाले पारिवारिक रोजाईमा पर्छ की पर्दैन ? यो भने हेर्न बाँकी छ ।
यसको अवरोध बन्न सक्छ, दक्षिण भारतीय फिल्म ‘कान्तारा : च्याप्टर १’ । यी दुई फिल्मका दर्शक लगभग समान्तर नै हुन् । ‘कान्तारा’ को सफलता पश्चात तयार भएको फिल्म नेपाल भित्रिएमा यसको ठूलो घाटा ‘बलिदान’ लाई हुनेछ ।
दसैँमै प्रदर्शन हुने दुई फिल्म ‘हरिबाहदुरको जुत्ता’ र ‘माइतीघर’ सामाजिक विषयवस्तुमा बनेका छन् । सामाजिक परिवेश र पारिवारिक कथा भएकाले यी फिल्म हेर्न स-परिवार जाने सम्भावना छ । यद्यपि, यी दुई फिल्म द्वन्द्व रुचाउने दर्शकको रोजाईमा भने नपर्न सक्छ । मिलन तामाङको निर्देशनमा तयार भएको फिल्म ‘माइतीघर’ मा तामाङ संस्कृतिलाई जोडेर कथा तयार गरिएको छ । केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपूत लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्मको सार्वजानिक सामाग्रीलाई विश्लेषण गर्ने हो भने यसमा पारिवारिक फिल्म रुचाउने दर्शकको उपस्थिति हुने देखिन्छ ।
‘हरिबहादुरको जुत्ता’ ले मास अडियन्सलाई अपिल गरेको छ । सस्पेन्स, कमेडी र सोसल ड्रामाका कारण यसले धेरैको ध्यान खिच्ने प्रयास गरेको छ । फेमेली अडियन्सलाई टार्गेट गरेको लाइट कमेडी यो फिल्म सबै दर्शक लक्षित देखिन्छ । कलाकार हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रलाई केहि समयको विश्राम पश्चात फिल्ममा ल्याएका छन् । आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ मार्फत दर्शकलाई भिन्न हरिबाहादुरसँग परिचित गराउने कलाकार हरिवंशले बताएका छन् ।
हास्य र सामाजिक सन्देशको अनुपम सङ्गमका रूपमा चिनिएको यो फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । फिल्मले समसामयिक विषयमा सामाजिक व्यंग्य गर्ने ट्रेलरले प्रस्ट्याएको छ । फिल्मको निर्देशन दीपेन्द्रकुमार खनालले गरेका छन् भने निर्मातामा मोहितवंश आचार्य र सरोज ओली छन् ।‘हरि बहादुरको जुत्ता’ ले दर्शकलाई हाँसो, मनोरञ्जन र सामाजिक सन्देशको संयोजनमार्फत पुरानो सम्झना ताजा गराउने अपेक्षा गरिएको छ ।
केहि वर्ष यता चाडपर्वमा नेपाली फिल्म नै दर्शकको रोजाईमा पर्दै आइरहेका छन् । त्यसमा पनि पारिवारिक विषयमा बनेका फिल्ममा दर्शकको उपस्थिति देखिएको छ । यो दसैँले के गर्छ यो भने हेर्न बाँकी छ ।





