कलाशैली संवाददाता । प्रत्येक वर्ष नेपालबाट ‘द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म सिफारिस गरिन्छ । नेपालस्थित अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सूचना जारी गरेर प्राप्त फिल्म मध्येबाट छनोट गरेर नेपालको प्रतिनिधित्व गराउने निर्णय लिन्छ । यसका संयोजक फिल्मकर्मी विमल पौडेलले रहेका छन् ।
उनको समितिले सन् २०२६ मा आयोजना हुने ९८औँ अस्कर अवार्ड नेपालबाट ‘अञ्जिला’ लाई प्रतिनिधित्व गराउने निर्णय गरेसँगै निर्देशक समुन्द्र भट्टले पैसाको चलखेल भएको आरोप लगाएकी छिन् । उक्त समितिमा ‘गुन्यु चोलो : द ड्रेस’ र ‘अञ्जिला’ ले प्रतिस्पर्धाका लागि आवेदन परेको थियो । प्रायले यस वर्ष नेपाललाई ‘राजागंज’, ‘भूठान’, ‘जार’ जस्ता फिल्मले प्रतिनिधित्व गर्ने अपेक्षा राखेका थिए । तर, उनीहरू सहभागी नै भएनन् ।
सहभागी फिल्मको लिस्ट सार्वजनिक हुँदा नै फिल्मकर्मी चकित परे । किनकि आश गरिएका फिल्मले नेपालबाट सहभागी हुन् पाउँ भनि आवेदन दिएनन् । सोही कारण सहभागी दुई मध्ये एक फिल्मका विषयमा समितिले निर्णय गर्यो । समितिले निर्णय गरेपछि समुन्द्रले आपत्तिजनक आरोप लगाएकी छिन् । उनले रकमको चलखेल भएको आरोप लगाएकी हुन् ।
उनले आफ्नो मेहनतलाई पैसाले ओझेलमा पारेको आशय व्यक्त गरेकी छिन् । तर, गत भदौंमा प्रदर्शन भएको समुन्द्र निर्देशित ‘गुन्यो चोलो – द ड्रेस’ ले उनले भने झैँ समीक्षा बटुल्न सकेको थिएन् । दर्शकको साथ र बक्सअफिसको व्यापारले महत्वपूर्ण भूमिका नखेलेता पनि समीक्षात्मक पाटोले भने प्रभावकारी भूमिका निर्वाह गर्न सक्थ्यो । तर, उनी त्यहाँ दुवै पक्षमा असफल बनिन् ।
उनको फिल्म नेपाललाई प्रतिनिधित्व गर्न योग्य छ वा अयोग्य त्यो बहस छुटै होला । तर, निर्णायक समितिलाई फिल्म जिम्मा लगाएपछि आफुनुकुल निर्णय नआउँदा चलखेलको आरोप पनि त लगाउनु भएन नी समुन्द्र जी !





