फिल्म । नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई देशकै ठूलो सिनेमा हल चेन क्यूएफएक्सले दसैँको फूलपातीमा शो नदिने निर्णय गरेको निर्माता विनोद पौडेलले सङ्केत गरेका छन् । निर्माता पौडेलले क्यूएफएक्सले अन्य ठूला तीन फिल्महरू रहेको भन्दै अर्को मितिमा प्रदर्शन गर्न भनेको आशयको स्टाटस सामाजिक सञ्जालमा पोस्ट्याएका छन् ।
गत भदौ २७ गते रिलिज हुने भनिएको यो फिल्म जेन जी पुस्ताको भ्रष्ट्राचार विरोधी आन्दोलनका कारण रोकियो । अन्ततः असोज ६ मा प्रदर्शन गर्ने भन्दा असोज १३ पछि शो नपाइने भएपछि निर्माण पक्षले असोज १३ नै रोज्यो । तर, असोज १३ मै पनि क्युएफएक्सले विदेशी फिल्म ल्याउने भएकाले नेपाली फिल्मलाई शो दिन नसकिने बताएको हो ।
‘दसैँमा तीनवटा नेपाली फिल्म छ, एउटा विदेशी फिल्म पनि आउँछ, तपाइँ अर्कै डेटमा आउनुस्’ भनेर क्युएफएक्सले दादागिरी देखाएको निर्माता पौडेलको आरोप छ । ‘हामीले भदौ २७ गते नै रिलिज हुने भनेर सम्पूर्ण प्रचारप्रसार गरिसकेका छौँ । विदेशमा पनि शो लिइसकेका छौँ, त्यसैले धेरै पछि धकेल्न सकिँदैन, सोही कारण हामीले फूलपाती रोजेका हौँ’, निर्माता पौडेलले भने ।
यसले नेपाली फिल्म उद्योगमा हलहरू प्रति नीतिप्रति प्रश्न उठाएको छ ।सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने मुकेश खनालको लेखन छ ।
फिल्मलाई पौडेलले र गुञ्जन गिरीसँग मिलेर निर्माण गरेका हुन् । रमेश चौलागाईँ र हरि श्रेष्ठ सह-निर्माता छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहनुभएको छ । नेपालमै नेपाली फिल्मलाई प्रदर्शन कठिनाई हुने यो पहिलो घटना भने होइन ।





