कलाशैली संवाददाता । केदार प्रसाद घिमिरे (माग्ने बुढा) सकेसम्म आफ्नो भनाइ विवादमा नआओस भन्ने ध्यान राखेर बोल्ने गर्छन् । उनै कलाकार घिमिरेले आज सामाजिक सञ्जालमार्फत अर्का कलाकार दीपकराज गिरीसँग माफी मागेका छन् । ‘जिस्का कोही नही होता है, उसका दीपक राज गिरी होता है’, उल्लेख गर्दै आफूले कलाकारको गिरीको पक्षमा बोल्न नसकेको जनाएका छन् । ‘मलाई माफ गर्नुहोला दीपक दाइ, तपाईंलाई अरूले लखेट्दा म मुकदर्शक भएर बस्न बाध्य भएँ । धेरैले मलाई सकभर कम बोल्नू वा विवादमा नपर्नू भनेर सल्लाह दिन्छन्’, उनले उल्लेख गरेका छन् ।
केही समय अगाडि कलाकार घिमिरेको पारिश्रमिकको विवाद हुँदा कलाकार गिरीले सामाजिक सञ्जालमा लेख्दै सहयोग गरेका थिए । तर, फिल्म ‘माग्ने राजा’ प्रदर्शनरत रहेको र आगामी दसैँमा ‘माइतीघर’ र तिहारमा ‘जेरी अन टप’ प्रदर्शन हुने भएकाले उनलाई विवादमा आउने किसिमका अभिव्यक्ति नदिन धेरै सुझाव दिएका छन् । सोही कारण उनले कलाकार गिरीको पक्षमा खुलेर बोल्न सकेनन् ।
उनले आफूलाई अप्ठ्यारो पर्दा दीपकले साथ दिएको र हाल रोहित अधिकारीलाई समर्थन गरेको कुरा पनि उल्लेख गरे । ‘तपाईंले माग्नेलाई लखेट्दा काँध थाप्नुभयो। अहिले रोहित अधिकारीलाई आड भरोसा दिँदै हुनुहुन्छ। आज जसले तपाईंलाई लखेट्छ, भोलि उसलाई पनि तपाईंले नै समर्थन गर्नुहोला’, उनले थपे।
कलाकार गिरी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा वाकयुद्ध चर्किएसँगै फिल्मकर्मीले आफ्नो विचार राखिरहेका छन्। योसँगै दसैंमा प्रदर्शन हुने फिल्म ‘माइतीघर’का निर्माता रोहित अधिकारी र ‘बलिदान’का निर्देशक सन्तोष सेनबीच पनि सम्बन्ध हार्दिक छैन ।





