कलाशैली संवाददाता । आगामी दसैँको फूलपातिलाई लक्षित गर्दै प्रदर्शन घोषणा गरिएको फिल्महरू ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ को रिलिज मिति नजिकिँदै गर्दा सामाजिक सञ्जालमा फिल्म निर्माता र प्रशंसकहरूबीच आक्रोशपूर्ण प्रतिक्रिया र आरोप-प्रत्यारोप बढ्दो छ । गत वर्षजस्तै यस वर्ष पनि सामाजिक सञ्जालमा फिल्मलाई लिएर ‘हेट स्पीच’ र गालीगलौजको शृंखला दोहोरिएको छ ।
‘माइतीघर’का निर्माता रोहित अधिकारीले आफ्नो फिल्मविरुद्ध सामाजिक सञ्जालमा भएका नकारात्मक टिप्पणीप्रति कानूनी उपचार खोज्दै साइबर ब्युरोमा निवेदन दर्ता गराएका छन् । उनले आफ्नो फिल्म प्रदर्शन नगर्ने तर नकारात्मक टिप्पणी गर्नेहरूलाई नछाड्ने जनाउदै कानूनी प्रक्रियामा गएका छन् ।
अधिकारीले अभिनेता तथा निर्माता दीपकराज गिरीका दुई स्टाटस सेयर गरेका छन् । मंगलबार बिहान गिरीले लेखेका दुई स्टाटसले सामाजिक सञ्जालमा थप तनाव बढाएको छ । पहिलो स्टाटसमा उनले फिल्मको प्रचार गर्नुको साटो गालीगलौज बन्द गर्न आग्रह गरेका छन् ।
गिरीको स्टाटसमा ‘बलिदान’का निर्देशक तथा अभिनेता सन्तोष सेनले जवाफ दिँदै आफूमाथि नकारात्मक कमेन्ट गर्न लगाएको आरोपको खण्डन गरे । यसपछि सामाजिक सञ्जालमा मंगलवार दिनभर नै आरोप प्रत्यारोपको शृंखला चलिरहेको छ ।
गिरीको दोस्रो स्टाटसमा उनले व्यंग्यात्मक रूपमा लेखे, ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले । बिचरो, न त व्यंग्य बुझ्छ, न त बौद्धिकता थाहा छ। बुरुक्क बुरुक्क साँढे झैं उफ्रिन्छ। माया लाग्छ।’ यो स्टाटसले पनि सामाजिक सञ्जालमा थप बहस सिर्जना गरेको छ । गत वर्ष २०८१ को दसैंमा गिरीको ‘छक्कापञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ बीच बक्सअफिसमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला गिरीले आफ्नो फिल्मविरुद्ध नियोजित साइबर हमला भएको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा एक फिल्मको प्रचार सामग्रीमा अर्को फिल्मविरुद्ध फेक एकाउन्टबाट हुने गालीगलौज र टिप्पणी यो तनावको मुख्य कारण बनेको देखिन्छ । फिल्म प्रचारको मुख्य माध्यम सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म बन्दै गएसँगै यस्ता प्रतिक्रिया र विवाद पनि सञ्जालमै व्यक्त हुन थालेका छन् । कतिपय निर्माताले यस्ता गतिविधिले फिल्म उद्योगको हित नगर्ने बताउँदै आएका छन् ।
यद्यपि आगामी दसैँलाई लक्षित गर्दै आफ्नो फिल्म प्रदर्शनको तयारीमा रहेका रोहित र सन्तोष बीच आगामी दिनमा झनै तनाव बढ्ने देखिन्छ । यी दुईका प्रसंशकले सामाजिक सञ्जालमा एक अर्का प्रति भद्दा टिप्पणी गर्नुका साथै विवाद बढाउने किसिमको अभिव्यक्ति दिईरहेका छन् ।





