कलाशैली संवाददाता । गत वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विभिन्न रेकर्ड बनाएको छ । घरेलु बजारमा मात्र ४७ करोडको ग्रस व्यापार गरेको उक्त फिल्मले नेपाल बाहिर पनि नेपाली फिल्मले गर्ने व्यापारमा नयाँ रेकर्ड बनायो । यो फिल्मबाट अभिनेता विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले एकाएक चर्चामा आए । मुलत उक्त फिल्म बन्नुमा यी तीन व्यक्ति नै महत्वपूर्ण थिएँ ।
यद्यपि, फिल्मको सफलतासँगै निर्देशक पौडेल र निर्माता पौडेल बीच सम्बन्ध हार्दिक हुन् सकेन । फिल्मको सिक्वेल घोषणा गर्दा पनि निर्देशक पौडेल दोहोरिएनन् । निर्माण समूह पनि दुई भागमा विभाजित भयो । निर्माता पौडेलसँगै अर्का निर्माता प्याट्रिक सुवेदीले दुई भिन्न कम्पनि निर्माण गरेर फिल्म निर्माण तथा वितरण गरिरहेका छन् ।
रमाइलो कुरा के छ भने यी तीनै अलग भएपछि नयाँ सहकार्यमा जोडिएको फिल्महरू भदौमा प्रदर्शन भए, केही बाँकी छ । अभिनेता बरालको मुख्य भूमिका रहेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते, निर्देशक पौडेलको निर्देशनमा तयार भएको र निर्माता सुवेदीको समूहले डायस्पोरा रिलिज गर्ने फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ प्रदर्शन भइसकेको छ भने निर्माता पौडेलको फिल्म ‘अभिमन्यू : च्याप्टर १’ भदौ २७ मा प्रदर्शन हुँदैछ ।
गत वर्ष ऐतिहासिक सफलता हात पारेका यी तीनै व्यक्ति आ-आफ्नो योग्यता र क्षमताको परिक्षण गर्न दर्शकसामु पुग्दैछन्/ पुगेका छन् । भदौको पहिलोसाता प्रदर्शन भएको फिल्म ‘जनै हराएको मान्छे’ सम्बन्धका धागाहरू’ मार्फत अभिनेता बरालको लोकप्रियताको जाँच भयो । उनलाई हेर्न केही दर्शक आए, तर ती पर्याप्त भएनन् ।
‘पूर्णबहादुरको सारङ्गी’ बाट उनको पनि स्टारडम बनेको भन्दै निर्माताले प्रचार गरे, तर घरेलु बजार मात्र नभई डायस्पोरामा समेत फिल्मले कमाल देखाउन सकेन । निर्माण पक्षले डायस्पोरामा राम्रोसँग प्रदर्शन पनि गर्नसकेको छैन । डेब्यु निर्देशनमै हिमाल न्यौपाने असफल निर्देशकको रुपमा चिनिए । किनकि बक्सअफिसमा रहेको आकडाले उनले व्यावसायिक रुपमा सफल डेब्यु गर्न नसकेको प्रमाणित भईसकेको छ । निर्देशक न्यौपानेले अभिनेता बरालसँगै केकी अधिकारी लगायतका कलाकारको साथ पाउँदा पनि त्यसको लाभ उठाउन सकेनन् । फिल्म प्रदर्शनको दोस्रो सातामा न्यून शो सङ्ख्यासहित प्रदर्शन भइरहेको छ ।
भदौ १२ मा प्रदर्शन भएको ‘कोशेढुङ्गा’ निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्म हो । ‘पूर्णबहादुरको सारङ्गी’ पछि उनले निर्देशन गरेको फिल्म भनेर धेरै प्रचार भयो । तर, त्यो प्रचारको असर दर्शकसम्म परेन । निर्देशक पौडेलकै लेखन तथा निर्देशनमा रहेको फिल्मबाट धेरै अपेक्षा हुनु स्वाभाविक हो । तर, यो पनि घरेलु बजारमा सफल हुन् सकेन ।
सुरक्षा पन्त, ऋचा शर्मा, नीति शाह, आर्यन सिग्देल लगायतका कलाकारलाई लिएर निर्देशक पौडेलले दर्शकको मन जित्न सफल भए । पछिल्लो फिल्मकै सफलताले यसलाई केही फाइदा पुग्ने आश अन्ततः निराश बनिसकेको छ । साथै, यसमा निर्माता तथा डायस्पोरा वितरक प्याट्रिक सुवेदी पनि जोडिएका छन् । उनको मार्गदर्शनमा निर्माण भएको फिल्म डायस्पोरामा ‘जारी २’ को स्टारडममा प्रदर्शन हुँदैछ । अर्थात् उनले ‘जारी २’ र ‘कोशेढुङ्गा’ सहित अन्त केही फिल्मको एकसाथ प्रदर्शन अधिकार विक्री गरे । तर, डायस्पोरा प्रदर्शनको सुखद खबर अझै आउन सकेको छैन । अब आगामी दिनमा नयाँ फिल्म थपिने भएकाले ‘कोशेढुङ्गा’ डायस्पोरामा पनि सफल हुने सम्भावना न्यून छ ।
यस्तै, भदौ २७ मा प्रदर्शन हुने ‘अभिमन्यू:च्याप्टर १’ मा निर्माता विनोद पौडेल छन् । ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माताको रुपमा प्रचार गरिरहेका पौडेलले फिल्म चलाउन केही फन्डा निकालिसकेका छन् । तर, उनले इतिहास दोहोर्याउने सम्भावना छैन । फिल्मको प्रचारप्रसार सोसल मिडिया केन्द्रीत गरिरहेका निर्माता पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’ को फाइदा कती उठान सक्छन् ? यो हेर्न बाँकी छ ।





