कलाशैली संवाददाता । नेपाली फिल्म ‘कुमारी’को छायाङ्कन मङ्गलवारबाट ललितपुरको पाटन क्षेत्रमा सुरु भएको छ । बिहान बङ्गलामुखी मन्दिरमा औपचारिक शुभ मुहूर्त समारोह आयोजना गरिएको थियो, जहाँ फिल्मका मुख्य कलाकार, निर्देशक र निर्माण टोली उपस्थित थिए । दिनेश राउतद्वारा निर्देशित यो फिल्मको सम्पूर्ण छायाङ्कन ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
फिल्ममा अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको अभिनय रहनेछ । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको यो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् ।
यसअघि फिल्मको घोषणा, पोस्टर र कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिसहित ‘कता छौ’ बोलको गीत चर्चामा आएको थियो । लिम्बुले यो फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गरेका छन् । फिल्मको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले दिएका छन् । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् । गायनमा लिम्बुको स्वर छ ।
निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित फिल्महरू निर्देशन गरेका थिए । त्यसपछि ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता सामाजिक विषयका फिल्महरू बनाएका उनले ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्केका छन् । फिल्मको छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन् । कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा र मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत छन् । अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन् ।





