कलाशैली संवाददाता । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को छैटौँ संस्करणको उपाधि सिन्धुपाल्चोककी गंगा सोनमले जितेकी छिन् । गए राति ललितपुरमा आयोजित ग्रान्ड फिनालेमा अनलाइन भोटिङको आधारमा उनलाई विजेता घोषणा गरिएको हो । विजेता बनेसँगै सोनमले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
फिनालेमा सोनमसहित सिक्किमकी बबिता थापा मगर, दार्जिलिङका अभिनय खाती, चितवनकी दर्शना गान्धारी र काठमाडौँका मृनल मानन्धरबीच प्रतिस्पर्धा भएको थियो । यो सिजनमा बबिता थापा मगर फर्स्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप बने । फर्स्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
अभिनय खाती चौथो र मृनल मानन्धर पाँचौँ भए, उनीहरूले समान १ लाख रुपैयाँ पुरस्कार जिते । उक्त कार्यक्रममा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक थिए । ‘नेपाल आइडल’ को पहिलो सिजनका विजेता बुद्ध लामा थिए । दोस्रो सिजन रवि ओड, तेस्रो सिजन सज्जा चौलागाईं, चौथो सिजन भुपेन्द्र थापा मगर र पाँचौँ सिजन करण परियारले उपाधि जितेका थिए ।





