कलाशैली संवाददाता । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले देशभरका आफ्ना हलमा ‘कमर्सियल शो’को समयमा क्यामेरा र बुम प्रवेशमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । दर्शकको गोपनीयता र सहज अवलोकनमा बाधा पुगेको गुनासोलाई सम्बोधन गर्दै हलले यस्तो निर्णय गरेको हो ।
बुधबार जारी विज्ञप्तिमा आईएनआईले भनेको छ, ‘विगतमा पत्रकार, युट्युब च्यानल र टेलिभिजन कार्यक्रमका लागि कमर्सियल शोमा क्यामेरा र बुमसहित प्रश्न सोध्ने क्रमले दर्शकको गोपनीयता भंग भएको र फिल्म अवलोकनमा बाधा पुगेको गुनासो प्राप्त भएको छ । तसर्थ, प्रिमियर, गीत र ट्रेलर रिलिजजस्ता विशेष कार्यक्रमबाहेक अन्य कमर्सियल शोमा क्यामेरा र बुमसहित प्रश्न सोध्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ ।’
यो नियम गोंगबुको ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलको विश्वज्योति मल, बुटवल सिटी सेन्टर र सिमराको केएसआर हलमा लागू हुनेछ । पछिल्लो समय सामाजिक सञ्जालमा दर्शकले कमर्सियल शोमा क्यामेरा र बुमको प्रयोगले गोपनीयता हनन भएको भन्दै आवाज उठाउँदै आएका थिए ।





