कलाशैली संवाददाता । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो महत्वाकांक्षी फिल्म ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगालस्थित डुअर्सबाट सुरु गरेका छन् । शुक्रबारदेखि सुरु भएको छायांकन तालिका सात दिनसम्म चल्ने बताइएको छ । निखिलसहित डेब्यु अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले हाल त्यहाँ आफ्ना दृश्यहरूको छायांकन गरिरहेका छन् । निखिलले यो फिल्मको निर्देशनसमेत गरेका छन् ।
काठमाडौं र स्याङ्जालगायतका स्थानमा पनि छायांकन हुने गरी यो प्रक्रिया ६० दिनसम्म चल्ने उनले जानकारी निखिलले दिए । फिल्ममा निखिलले शीर्ष भूमिका निर्वाह गर्दैछन् । पूर्णिका सिजापतिसहित प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारीलगायतका सहायक कलाकार पनि छन् । फिल्मलाई विश्वव्यापी रिलिज गर्ने योजना निखिलको रहेको छ ।
फिल्मको कथा र पटकथा निखिलले आफैं लेखेका हुन् । उनले यो फिल्मको विषयवस्तु सशक्त रहेको दाबी गरे । यो फिल्मबाट अभिनेत्री संचिता लुइँटेलले नृत्य निर्देशकको रूपमा डेब्यु गर्दैछिन् । एक गीतमा उनले कोरियोग्राफी गर्नेछिन् ।





