कलाशैली संवाददाता । भनिन्छ, हरेक शुक्रबार फिल्मकर्मीका लागि नयाँ हुन्छ । नयाँ फिल्म लिएर आएका निर्देशक वा निर्माताले दर्शकबाट कस्तो प्रतिक्रिया पाउने हुन् ? फिल्मले सोही अनुरुप आफ्नो यात्रा तर गर्छ । तर, ती फिल्मसँग जोडिएका पछिल्लो फिल्मले गरेको कर्मले थोरै भएपनि दर्शकलाई आकर्षण गर्न मदत गर्छ ।
भदौ १२ गते प्रदर्शन तय गरेको ‘कोशेढुङ्गा’ ले फिल्म निर्माण सुरू गरेदेखि केन्द्रीय चलचित्र जाँच समितिमा फिल्म जाँचपास गराउँदा सम्म ‘पूर्णबहादुरको सारंगी’ को नाम प्रयोग गरेर आफ्नो फिल्मको चर्चा बढाउने कोसिस गरिरहेको छ । किनकि दुवै फिल्मका निर्देशक सरोज पौडेल हुन् । उनको लेखन तथा निर्देशनमा तयार भएको ‘पूर्णबहादुरको सारंगी’ ले ऐतिहासिक व्यापार गरेको थियो । तर, ‘कोशेढुङ्गा’ ले त्यो पछिल्लो सफलतालाई कत्तिको निरन्तरता दिन सक्छ ? यसको जवाफ आगामी आगामी सातासम्म थाहा हुनेनै छ ।
‘कोशेढुङ्गा’ निर्माण पक्ष यतिबेला ‘पूर्णबहादुरको सारंगी’ भन्दा राम्रो फिल्म बनाएको छौँ भन्ने भाष्य स्थापित गर्न लागिपरेको छ । यस्तो भएमा दर्शक हलसम्म आइदिने र लगनी उठ्ने विश्वास निर्माण समूहको हुनसक्छ । तर, ‘पूर्णबहादुरको सारंगी’ निर्देशक वा कलाकारका कारण नभई ‘फिल्म हेर्ने लहर’ का कारण सफल भएको भन्ने तथ्य अझै ‘कोशेढुङ्गा’ निर्माताले बुझ्न सकेका छैनन् ।
अघिल्लो साता ‘पूर्णबहादुरको सारंगी’ कै अभिएता विजय बराल अभिनित ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले राम्रो व्यापार गर्न नसकेपछि निर्देशक पौडेललाई पनि केही दबाब भने पक्कै पढेको छ । अघिल्लो सफलको तुलनामा ५ प्रतिशत सफलता पनि दोहोरिए यो समयमा उल्लेख्य उपलब्धी मान्न सकिन्छ ।
तर, फिल्मको प्रचारप्रसार र सार्वजनिक सामग्रीले दर्शकलाई धेरै आकर्षित गर्न धेरै बल पुगेको देखिदैन । सोही कारण पनि हुनसक्छ निर्माण पक्षले आफ्नो फिल्मको विषयको चर्चा गर्न छाडेर ‘पूर्णबहादुरको सारंगी’ को सफलताको नारा बारम्बार दोहोर्याउने गरेको छ । उक्त नाराले फिल्मलाई कत्तिको फाइदा गर्छ यो भने हेर्न केही समय कुर्नुको विकल्प छैन ।





