फिल्म । गएको भदौ ६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘माग्ने राजा’ले सुखद सुरुआत गरेको छ । शुक्रबार दिउँसो १२ बजेपछि उत्साहजनक सुरुवात गरेको फिल्मले शनिबार दर्शकको साथ पायो । निर्देशक ऋषि लामिछाने, कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटी काठमाडौँ उपत्यकाका विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया लिईरहेका छन् ।
हलमा पुगेको निर्माण टिमलाई दर्शकले फिल्मको मनोरञ्जन र सन्देशको प्रशंसा गरेका छन् । केदार घिमिरेलाई दर्शकले ‘माग्ने राजा’ भन्दै नाराबाजी गर्दै जुरुक्कै बोकेका दृश्यले उनको लोकप्रियता प्रष्ट्याउँछ । केदारले दर्शकको यस्तो मायाले उत्साहित बनाएको र आगामी दिनमा अझ राम्रो फिल्म बनाउने चुनौती थपिएको बताए । अभिनेत्री सिवाकोटीले पनि आफ्नो भूमिकालाई दर्शकले रुचाएकोमा उत्साह व्यक्त गरिन् ।
मुनाल घिमिरेद्वारा निर्मित यो फिल्मले मनोरञ्जन र सन्देशलाई सन्तुलित रूपमा प्रस्तुत गरेको दर्शकको प्रतिक्रिया छ । ‘छक्का पञ्जा’ सिरिजबाहिर पहिलोपटक सोलो अभिनेताको रूपमा केदार घिमिरेको कमेडीले दर्शकको मन जितेको छ । वितरक रोहित कट्टेलका अनुसार ‘माग्ने राजा’ले शुक्रबार र शनिबार देशभर उत्साहाजन व्यापार गरेको थियो भने आइतबार र सोमबारको व्यापार पनि राम्रो रहेको छ । फिल्मले मंगलवार तीजमा दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।
राम्रो ‘वर्ड अफ माउथ’ र सकारात्मक रिभ्यूका कारण दर्शकको चाप बढेको निर्माण पक्षको दावी छ । दर्शकले फिल्मले हाँस्दै सन्देश दिएको भन्दै प्रशंसा गरेका छन् । देश-विदेशबाट फोन र सामाजिक सञ्जालमार्फत धन्यवाद प्राप्त भइरहेको निर्देशक लामिछानेले बताए । ‘माग्ने राजा’ भुइँमान्छेको धनी हुने महत्वाकांक्षाको कथामा केन्द्रित छ । यो फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल र आर्यन सिग्देलको अभिनय छ । सामीप्यराज तिमिल्सेनाको लेखन रहेको फिल्मको ‘सुतेर उठेको पैसामा’ गीतले चर्चा बटुलेको छ ।





