कलाशैली संवाददाता । खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लामो ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा दयाहाङ राई ग्रामीण परिवेशमा प्रेम र परिवारबीचको द्वन्द्वमा अल्झिएको चरित्रमा देखिएका छन् । रिश्मा गुरुङसँगको उनको केमिस्ट्रीले ट्रेलरलाई भावनात्मक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई थप रोचक बनाएको छ । निर्देशक गुरुङले परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गरेको ट्रेलरले संकेत गर्छ । संवाद, छायांकन र पृष्ठभूमि संगीतले दर्शकलाई गाउँले माहोलमा तान्छ ।
यसअघि टिजर र पोस्टरले चर्चा कमाएको ‘रिमै’को ट्रेलरले दर्शकमा उत्साह थपेको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रा.लि. र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगरलगायतको अभिनय छ ।
उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेका छन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे सह-निर्माता छन् । दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, बिष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डि. गुरुङको सम्पादन छ ।





