कलाशैली संवाददाता । भारतीय गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रस्तुति दिने भएकी छन् । आगामी असोज ३ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन् । कार्यक्रम वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रा.लि.को प्रस्तुति र मनु मिडिया प्रा.लि.को व्यवस्थापनमा हुनेछ ।
आयोजकका अनुसार, यो कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको छ । कन्सर्टमा कोरियाली गायिका सेलिन्डी माताहारीले पनि प्रस्तुति दिनेछिन्, जो कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार हुन् ।
आयोजक संस्थाका अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले ‘नोरा फतेहीको कन्सर्ट’ बाट प्राप्त अनुभवलाई यसपटक प्रभावकारी रूपमा प्रयोग गर्ने बताएका छन् । नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहने आयोजकले जनाएका छन् । टिकटको मूल्य र अन्य विवरण चाँडै सार्वजनिक गरिने आयोजकले बताएका छन् ।
पलकको प्रसिद्ध गीतहरूमा कौन तुझे (एम.एस. धोनी: द अनटोल्ड स्टोरी), प्रेम रतन धन पायो, चाहूँ मैं या ना (आशिकी २), तेरी मेरी कहानी (गब्बर इज ब्याक), जुम्मे की रात (किक), सनम तेरी कसम, लापता, बाते ये कभी ना लगायत रहेका छन् ।





