कलाशैली संवाददाता । कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) को पहिलो निर्देशकीय फिल्म ‘मैझारो’मा अभिनेता दयाहाङ राई विशेष भूमिकामा जोडिएका छन् । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनको मंगलबारबाट छायांकन सुरु भएको छ । पहिले दयाहाङ मुख्य भूमिकामा थिए, तर रचनात्मक भिन्नता र अर्को फिल्मको छायांकन मितिसँग जुधेपछि धीरज मगरलाई मुख्य भूमिकामा लिइएको थियो ।
दयाहाङको अनुपस्थितिबारे प्रश्नहरूले हैरान भएका विल्सनले उनलाई विशेष क्यामियो भूमिकाका लागि आग्रह गरे । दयाहाङले विल्सनको विन्तीलाई स्वीकार्दै वर्षौंदेखिको भाइचारालाई कायम राख्दै फिल्ममा सहभागिता जनाए । छायांकन सुरु भएसँगै दयाहाङको लुक्स पनि सार्वजनिक गरिएको छ । निर्माण पक्षले उपलब्ध गराएको तस्बिरमा उनी लिम्बू पहिरनमा भाला समातेको अवस्थामा देखिएका छन्, जसले उनको लिम्बू पात्रको भूमिकालाई प्रस्ट पार्छ ।
गत साउनको पहिलो सातादेखि इलाममा छायांकन भइरहेको यो फिल्ममा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापालगायतका कलाकारहरूको अभिनय छ । फिल्मको लेखन र निर्देशन विल्सन राईले गरेका छन् भने छायांकन सौरभ लामाले गरेका छन् । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत छ । गीतहरूमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीले स्वर दिएका छन् ।





