कलाशैली संवाददाता । मेकअप आर्टिस्ट र डिजाइनरका रूपमा आफ्नो परिचय बनाउँदै आएकी ज्योति केसीले साउन महिनाको अवसर पारेर भगवान शिवप्रतिको आफ्नो समर्पणलाई केही तस्बिरहरूमार्फत प्रस्तुत गरेकी छिन् । धार्मिक आस्थालाई प्रस्तुत गरेकी ज्योतिले पौराणिक कथाअनुसार माता पार्वतीले भोलेनाथ शिव भगवानलाई प्राप्त गर्नका लागि कठोर तपस्या गरेको प्रसंगलाई तस्बिरमा प्रस्तुत गरेकी हुन् । साउन महिना शिवको प्रिय महिना मानिने हुँदा हिन्दु धर्मावलम्बीहरू यस महिनामा व्रत र पूजापाठ गर्छन् । यसै भक्ति र प्रेमलाई प्राथमिकता दिएकी ज्योतिको उक्त तस्बीर फोटो पत्रकार कुवेर डंगोलले खिचेका हुन् ।
फिल्म क्षेत्रमा पनि सक्रिय ज्योतिले भारतको चण्डीगढमा रहेको ‘इन्डियन इन्स्टिच्युट अफ फेसन डिजाइन’ बाट फेसन डिजाइनिङमा स्नातक गरेकी छिन् । त्यहाँ उनले फेसनसँगै मेकअप र स्किन आर्टको शिक्षा पनि लिइन् । ‘पोस्ट ग्र्याजुएसन’ सकेपछि उनका साथीहरू बलिउडतिर लाग्दा उनी भने आफ्नै देशमा केही गर्छु भन्दै नेपाल फर्किएकी हुन् ।
उनले ‘टेलिभिजन कमर्सियल’ (टिभीसी), पत्रिका र अनलाइन पोर्टलका लागि गरिने फोटोसुटहरूमा फोटो पत्रकार कुबेर डंगोलसँग पनि सहकार्य गरेकी छिन् ।चन्द्रागिरी नगरपालिका, मातातीर्थमा बस्ने ज्योतिले सन् २०१७ मा ‘मिस्टर एन्ड मिस मोडेल लाइक अ स्टार’ नामक सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै फेसन क्षेत्रमा पाइला टेकेकी थिइन् । सन् २०१९ देखि नेपालमा फेसन र मेकअपमा सक्रिय ज्योतिले काठमाडौँको अनामनगरमा ‘जावेरिया मेकअप स्टुडियो’ सञ्चालन गरिरहेकी छिन् ।
फोटो पत्रकार : कुबेर डंगोल
मेकअप एण्ड हेयर : मेकअप बाइ ज्योति केसी
ड्रेस डिजाइन : डिजाइन बाइ ज्योति केसी
ज्वेलरी पार्टनर : पिक्युलियर एथिक्स कलेक्सन
सहायक फोटोग्राफर : कृष्ण बुढा










