कलाशैली संवाददाता । खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ को शीर्ष गीत बुधबार सार्वजनिक गरिएको छ । आगामी भदौ २० बाट देशव्यापी प्रदर्शनमा आउने यो फिल्मको गीतमा मुख्य कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज छ भने रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ)को स्वर छ ।
गुरुङ परिवेशमा आधारित यो गीतको अडियो र भिडियोले दर्शकलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ । लामो समयपछि दयाहाङ राई र रिश्मा गुरुङको जोडी (काजी र मैंया) पुनः पर्दामा देखिन लागेकाले दर्शकमा फिल्मप्रति उत्साह थपिएको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको यो फिल्मका निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन् ।फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, बिष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डी. गुरुङको सम्पादन छ ।





