कलाशैली संवाददाता । गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ले दर्शकको मन जितेका छन् । निर्माण पक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित भए पनि फरक प्रस्तुतिका कारण यी फिल्मले दर्शकको साथ पाएका हुन् । फिल्म प्रदर्शनको दोस्रो दिन जनैपूर्णिमा र रक्षाबन्धनमा हलहरूमा दर्शकको उल्लेख्य चाप देखिएको छ । निर्माण पक्षले गाईजात्रापछि पनि यो निरन्तरता कायम रहने विश्वास व्यक्त गरेका छन् ।
‘मोहर’ले देवदेवताको सेवाका नाममा अवोध कन्यालाई देउकी बनाउने अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लक्ष्य राखेको छ । लेखक तथा निर्देशक ओम प्रतीकले भने, ‘केही वर्षअघिसम्म चलेको देउकी प्रथालाई रोक्न र बालिकामाथि हुने सामाजिक हिंसाविरुद्ध सन्देश दिन यो फिल्म बनाइएको हो। यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उजागर गर्ने फिल्म हो।’
फिल्ममा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजंग शाही, मिस पविलगायतका कलाकारको अभिनय छ। भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको छायांकन र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
‘सिटामोल’ द्वन्द्वकालमा घाइते भएको एक परिवारको कथामा आधारित छ । निर्देशक राजबहादुर सानेले यो फिल्मले आफ्नो निर्देशकीय यात्रालाई फरक ढंगले प्रस्तुत गर्ने बताए ।
‘यो फिल्म माओवादी द्वन्द्वकालमा घाइते भएका व्यक्ति र उनको परिवारको संघर्षको कथा हो। कलाकारहरूले चरित्रलाई जीवन्त बनाएका छन्’, उनले भने । अभिनेता सौगात मल्लले फिल्मको विषयवस्तु र युद्ध लडाकुको जीवनसंघर्षले आफूलाई आकर्षित गरेको बताए ।
फिल्ममा सौगातसँगै बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल र दिनेश रेग्मीको अभिनय छ। कथा निर्देशक साने र प्रदीप भारद्वाजले लेखेका हुन् ।





