कलाशैली संवाददाता । साउनको पहिलो हप्ताबाट इलाममा छायांकन सुरु भएको फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ । निर्देशक विल्सन विक्रम राईले निर्देशन गरेको यो फिल्मले पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्य राखेको छ।फिल्मको छायांकन इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ ।
निर्देशक राईले दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउने बताए । कथा र पटकथा पनि उनैले लेखेका छन्।मौलिक प्रेम कथामा आधारित फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङ्देन र विशाल लिम्बुको अभिनय छ ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत छ । गीतमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वर समावेश छ । सौरभ लामाले छायांकन गरेको यो फिल्मको वितरण आरआर फिल्म्स र डिजिटल अधिकार ओएसआरले लिएको छ ।





