कलाशैली संवाददाता । हास्य कलाकार केदार घिमिरे, जो ‘माग्ने बुढा’ को नामले बढी चिनिन्छन्, अहिले नेपाली फिल्म उद्योगका सर्वाधिक व्यस्त र महँगा कलाकारहरूमध्ये एक बनेका छन् । रेडियोमा काम गर्दैगर्दा अभिनयमा आकर्षित भएका घिमिरेले ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ हुँदै ‘मेरी बास्सै’ मा ‘माग्ने बुढा’ को पात्रबाट पाएको लोकप्रियतालाई अहिले पनि कायम राखेका छन् ।
‘छक्का पञ्जा’ शृंखलाबाट ठूलो पर्दामा स्थापित भएका घिमिरेका तीनवटा फिल्महरू प्रदर्शनको तयारीमा छन् । ‘माग्ने राजा’ भदौमा, ‘माइतीघर’ असोजमा र ‘जेरी अन टप’ कात्तिकमा प्रदर्शन हुँदैछन् ।
‘माग्ने राजा’ फिल्ममा उनी पहिलोपटक मुख्य भूमिकामा छन् । ‘यो पात्र मसँग जोडिएको छ । मलाई सधैं सहायक भूमिकामा देख्ने दर्शकका लागि यो फिल्म खास छ’, उनले भने । यो हास्यमा मात्र नभई एउटा गहन सामाजिक विषयमा आधारित रहेकाले र मनोरञ्जनसँगै महत्त्वपूर्ण सन्देश पनि दिने भएकाले आफूलाई यो फिल्म मन परेको उनले बताए ।
ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म ‘माग्ने राजा’ मा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) लाई केन्द्रमा राखिएको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्, जो ‘इच्छा’ पछि लामो समयपछि फिल्म निर्माणमा फर्केका छन् । हाल उनी दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पनि हुन् ।नरेन्द्र मैनालीले खिचेको फिल्ममा आर्यन सिग्देलको विशेष भूमिका छ । आरआर फिल्मस्ले वितरण गर्ने यो फिल्ममा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा र संवाद तथा दीपक शर्मा र बाबुल गिरीको संगीत छ ।





