कलाशैली संवाददाता । यस साता दुई फरक सामाजिक कथावस्तुमा आधारित नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ आजदेखि एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फिल्मका निर्माण पक्षले दर्शकले फरक स्वाद पाउने भएकाले दुवै फिल्म हेर्ने विश्वास व्यक्त गरेका छन् । लेखक तथा निर्देशक ओम प्रतीकले ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने अन्धविश्वासविरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको बताए । उनले परम्परागत सामाजिक हिंसाका घटनालाई निरुत्साहित गर्ने सन्देश प्रवाह गर्न फिल्मले महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।
फिल्ममार्फत धेरै तथ्य बुझाउन सहज हुने भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको निर्देशक प्रतीकको भनाइ छ । यस फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिस पबी लगायतका कलाकारहरूको अभिनय रहेको छ । अभिनेत्री बेनिशा हमालले सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुले दर्शकलाई निराश नबनाउने बताइन् । फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, दीपेन बस्न्यातको छायांकन र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
आजदेखि प्रदर्शनमा आएको अर्को फिल्म ‘सिटामोल’ द्वन्द्वकालमा घाइते भएको एक परिवारको कथामा आधारित छ । यस फिल्मका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढंगले परिभाषित गर्ने दाबी गरेका छन् । उनले यो फिल्म सिन्धुलीमा छायांकन गरिएको जानकारी दिए ।
अभिनेता सौगात मल्लले फिल्मको विषयवस्तु र युद्ध लडेका लडाकुको जीवनसँगको संघर्षले आफूलाई जोड्न प्रेरित गरेको बताए । फिल्ममा सौगात मल्लसँगै बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी लगायतका कलाकारहरूले अभिनय गरेका छन् । उक्त फिल्मको कथा निर्देशक साने र प्रदीप भारद्वाजले संयुक्त रूपमा लेखेका हुन् ।





