कलाशैली संवाददाता । अभिनेत्री मिरुना मगरलाई नेपाली फिल्म उद्योगमा पछिल्लो समय चर्चामा रहेकी कलाकार हुन् । सुरुवाती केही फिल्महरूमा सफलताको खोजीमा रहेको मिरुना पछिल्लो समय सफल अभिनेत्रीको रुपमा परिचित छिन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ ले उनको लागि हिट फिल्ममा ह्याट्रिक गरे ।
पछिल्लो फिल्म ‘ऊनको स्वीटर’ सफल भएपछि पुनः सफलतामा फर्किएकी मिरुनाको आगामी फिल्म हो, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ । यसबाट उनी सफलतालाई निरन्तरता दिने तयारीमा छिन ।
‘जसरी यसअघिका सफल फिल्ममा काम गर्दा सकारात्मक ऊर्जा आउँथ्यो, यो फिल्म गर्दा पनि त्यस्तै महसुस भइरहेको छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा म विश्वस्त छु’, मिरुनाले भनिन् । आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित यो फिल्ममा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्मको एसोसिएट निर्देशक मनिष राउत हुन्, जसले ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।





