कलाशैली संवाददाता । यशराज फिल्म्सको व्यानरमा तयार भएको फिल्म ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ३९ सेकेन्ड लामो यो ट्रेलरमा ऋतिक रोशनले मेजर कबीर धालीवालको भूमिका फेरि निर्वाह गरेका छन् भने जुनियर एनटीआरले उनको बलिउड डेब्यूमा खलनायकको भूमिका निभाएका छन् ।
कियारा एडवाणीको बिकिनी अवतारले ट्रेलरमा थप ग्ल्यामर थपेको छ, जसले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ । अयान मुखर्जीको निर्देशनमा तयार भएको उक्त फिल्म वाईआरएफको ‘स्पाई युनिभर्स’ को छैटौं कडी हो, जसमा ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ समावेश छन् ।
ट्रेलरमा ऋतिक र जुनियर एनटीआरबीचको तीव्र भिडन्त, उच्च-स्तरीय एक्सन दृश्य र भावनात्मक क्षणहरू समावेश छन्, जसले दर्शकको उत्साहलाई थप बढाएको छ । यो फिल्म स्पेन, इटाली, अबुधाबी, जापान, रुस र भारतमा १ सय ५० दिनको छायांकन अवधिमा खिचिएको छ ।
यो फिल्मले ‘स्पाई युनिभर्स’ को अर्को कडी ‘अल्फा’ को लागि पनि आधार तय गर्ने विश्वास गरिएको छ, जसमा आलिया भट्ट र सरवरी वाग मुख्य भूमिकामा छन् । ‘अल्फा’ यो वर्ष क्रिसमसमा रिलिज हुने तालिका छ ।





