कलाशैली संवाददाता । अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार सौगातलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप बलियो बनाएको घोषणा गरेको छ ।
फिल्ममा यसअघि नै दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन् । सौगातको प्रवेशसँगै दयाहाङ र सौगातको जोडीको पुनर्मिलनले दर्शकको उत्साह बढ्ने निर्माण पक्षको विश्वास छ । निर्देशक अनिल बुढा मगरले अन्य कलाकारहरू पनि छिट्टै फाइनल गर्ने बताएका छन् ।
महेश राईको कथामा बन्न लागेको यो फिल्म ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुँदैछ । फिल्म ‘घरज्वाइँ’का निर्माता जनक घर्ती मगरले यो फिल्म निर्माण गर्दैछन्, जुन उनको र निर्देशक अनिल बुढा मगरको दोस्रो सहकार्य हो ।
फिल्मको छायांकन शिशिर बिशङ्खेले सम्हाल्नेछन् । मङ्सिर दोस्रो हप्तादेखि पोखरा र ढोरपाटन क्षेत्रमा छायांकन सुरु हुने यो फिल्म आगामी चैत २७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।





