कलाशैली संवाददाता । अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ अभिनीत रोमान्टिक ड्रामा फिल्म ‘जेरी अन टप’ असोज ३१ गते (१७ अक्टोबर २०२५) मा रिलिज हुने भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।
पोस्टरहरूमा अनमोल र जसितालाई दुईवटा पोस्टरमा र अनमोललाई आँचल शर्मासँग अर्को पोस्टरमा देखाइएको छ, जसले फिल्ममा त्रिकोणात्मक प्रेम सम्बन्धको संकेत गर्छ । घुमफिरको क्रममा प्रेमकथा बुनिएको यो फिल्मको छायांकन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा भएको छ ।
पोस्टरमा अनमोल र जसितालाई पदयात्रामा हिँडेको देखिन्छ । सुयोग गुरुङले निर्देशन गरेको यो फिल्मको कथा हेमराज बीसीको हो । सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्म रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले निर्माण गरेका छन् । फिल्ममा भुवन केसी, उषा खड्गी र केदार घिमिरेको पनि अभिनय छ ।





