कलाशैली संवाददातागीत । केदार घिमिरे (माग्ने बुढा) अभिनीत फिल्म ‘माग्ने राजा’को शीर्षक गीत ‘सुतेर उठेको पैसामा’ सोमबार सार्वजनिक गरिएको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मको रमाइलो शैलीको गीतले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
गीतमा बाबुल गिरीको स्वर र रोनिश खड्काको बाल गायन समावेश छ । शब्द र संगीत पनि बाबुल गिरीकै रहेको यो गीतको भिडियोमा मुख्य कलाकार केदार घिमिरेलाई केन्द्रमा राखिएको छ ।
गम्भिर विष्टले भिडियोको कोरियोग्राफी गरेका छन् । ऋषि लामिछानेको निर्देशनमा बनेको ‘माग्ने राजा’को प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् । फिल्ममा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कंडेल, पवित्रा साँकी (मिस पबी) लगायतका कलाकारहरूको अभिनय छ ।
सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र मित्र डि. गुरूङको सम्पादन छ । ‘माग्ने राजा’ भदौ ६ देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।





