कलाशैली संवाददाता । यही दशैंको छेको पारेर फिल्म ‘माइतीघर’ प्रदर्शन गर्ने चटारोमा रहेका निर्माता रोहित अधिकारीले अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा लिएर अर्को फिल्म ‘भाइटीका’ पनि बनाउने पक्कापक्की गरेका छन् ।
संभवत २०८३ को तिहारमा आउने गरी निर्माण गर्न लागिएको ‘भाइटीका’ मा विपिनलाई आइतबार अनुबन्ध गरिएको हो । यस फिल्ममा विपिन मुनाफाको शेयरमा बस्न सहमत भएको निर्माता अधिकारीले बताए । तर कति प्रतिशत शेयरमा बस्न उनी राजी भए भन्ने बारेमा केही खुलाइएको छैन ।
अभिनेता विपिन कार्की निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । यो फिल्ममा उनी मुनाफा साझेदारको रुपमा जोडिएका हुन् । केदार घिमिरेले ‘माग्ने राजा’ का लागि ६१ लाख रुपैयाँ लिएको खबर गत साता बाहिरिएपछि नकारात्मक हिसाबले तातिएको फिल्मी बजारमा विपिनको मुनाफा शेयरमा बस्ने निर्णय भने सकारात्मक मानिएको छ ।
कथा नै मन पराएको कारण मुनाफाको शेयरमा बस्न विपिन राजी भएको निर्माता अधिकारीले बताए । त्यसो त यसअघिका फिल्ममा विपिनले पनि ५० लाख भन्दा माथि नै लिने गरेको बताईन्थ्यो । यस वर्ष उनको ‘कर्मा’ फिल्म बक्सअफिसमा ‘डिजास्टर’ भएको थियो भने ‘ऊनको स्वीटर’ ले आफुलाई ‘सुपरहिट’ साबित गरिसकेको छ ।
दाजुबहिनीको सम्बन्धको कथा रहेको भनिएको ‘भाइटीका’ मा विपिनको बहिनीको भूमिकामा कसलाई अनुबन्ध गरिन्छ भन्ने तय भईनसकेको निर्माण पक्षले बताएको छ । ‘बीसौं वर्षदेखि दाईलाई टीका लगाउन नपाएको बहिनीको कथा हो’ महेश दवाडीले लेख्न लागेको पटकथाको कथाबारे रोहितले भने । उनका अनुसार, कथाले छोएपछि विपिनले सारा काम छाडेर भएपनि स्क्रिप्टमा सुरुवातदेखि नै बस्ने प्रतिबद्धता गरेको बताए । फिल्मलाई दीपक वलीले निर्देशन गर्ने भएका छन् ।