कलाशैली संवाददाता । नेपालमा नै नेपाली फिल्म नहेरेर विदेशी फिल्म बढि हेरिन्छ, रुचाईन्छ भन्ने गुनासो स्वदेशी फिल्मकर्मीले निकै गर्छन् । अझ आफ्ना फिल्मलाई पाखा पारेर विदेशी फिल्मलाई बढि शोज दिइएको रोष त फेरि बेग्लै छ । तर पीडा भने विदेशी फिल्म लगाउने नेपालका हलवाला र मोटो रकममा किन्ने यहाँका वितरकको पनि अत्यासलाग्दो नै छ ।
चालु आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी रहँदा यो एक वर्षमा नेपालमा ८४ विदेशी फिल्म प्रदर्शनमा आईसकेका छन् । जबकी नेपाली फिल्म २०८१ साउन ११ मा रिलिज भएका ‘ब्ल्याक छायाँ’ र ‘इश्वर’ देखि गत जेठ २३ को पछिल्लो रिलिज फिल्म ‘जन्ते बाख्रो’ सम्म ६१ वटा प्रदर्शनमा आए । ८४ विदेशी फिल्ममध्ये १ हजार भन्दा कम संख्यामा टिकट बिक्री गर्ने १८ वटा छन् । ती सबै १८ फिल्मले ४ हजार टिकट पनि बेच्न सकेनन् ।
रोचक त, गत चैत १६ मा नेपालमा लागेको मलायालम फिल्म ‘एल २ एम्पुरान’ ले मात्र एउटा टिकट बिक्री गरेर नेपालबाट ‘लाइफटाइम कलेक्सन’ ४ सय ५० रुपैयाँ मात्रै गरेको छ । मोहनलाल र पृथ्वीराज सुकुमारनको अभिनय रहेको यस फिल्मको बजेट पौने दुई करोड भारुको हो । भारतमा भने यसले २ सय ६५ करोड भारुको बक्सअफिस कलेक्सन गरेको थियो । तर नेपालमा भने अवस्था दयनीय देखियो ।
त्यस्तै, नेपालभरबाट एक सय दर्शक पनि बटुल्न नसक्ने विदेशी फिल्ममा ‘राजाराम’ २२, ‘वेलकम’ २४, ‘फिदा’ ३१, ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ ५१, ‘अग्नीसाक्षी’ ७४, ‘डिटेक्टिभ कोनान : द मिलियन डलर पेन्टाग्राम’ ९० र ‘ओभरलर्ड : द सेक्रेड किंगडम’ ९२ वटा टिकटमा नै सीमित भए । जून अवस्था नेपाली फिल्मको व्यापार भन्दा पनि विरक्तलाग्दो हो । संभवत यी कुनैपनि फिल्मले प्रदर्शनका लागि डीसीपी (डिजिटल सिनेमा प्याकेज) फाइल हलमा वितरण गर्ने केडीएम (कि डेलिभरी म्यासेज) चार्ज तिर्न पुग्ने रकम पनि टिकट बेचेर उठाउन सकेनन्, वितरक वा निर्माताको खल्तीमा जानु त परको कुरा ।
तर चालु आर्थिक वर्ष २०८१–०८२ मा नै ‘पुष्पा २’ ले साढे २६ करोड, ‘स्त्री २’ ले ८ करोड, प्रदर्शनरत ‘हाउसफुल ५’ ले झन्डै ५ करोड र ‘सिकन्दर’ ले ३ करोड रुपैयाँको टिकट बिक्री गर्न सफल भएका थिए ।