शैली गसिप । त्यसो त साँढेको जुधाई, बाच्छाको मिचाई भनिन्छ । तर यहाँ त उल्टो पर्ला जस्तो छ । बाच्छाको जुधाईले साँढे पो पाखा लाग्नु पर्ने स्थिती ?
भयो के भने, शनिबार सबेरै दंगाली निर्माता रोहित अधिकारीले फेसबुकमा एउटा स्टाटस ठोके । उनको रोष भनौं वा कटाक्ष को लक्ष्यित थियो ? सजिलै बुझ्न सकिन्छ । ‘सधैं कलाकारको भीड जम्मा गर्दैमा सफल भईदैन महासय…अरुलाई गरेको पापको नतिजा बिस्तारै देखिदैछ, अझै देखिन्छ । मन पनि कालो, नियतै खराब…।’
पछिल्लो समय रोहितको टकराव थानकोटे निर्देशक दिनेश राउतसँग परिरहेको त सबैलाई जगजाहेर नै छ । पछिल्लो पटक फिल्म ‘२६ करोड’ का लागि दिनेशको निर्देशनमा रोहितले निर्माण सहकार्य गर्ने तय भईसकेको थियो । मिडियाबाजी पनि भईसकेको बेला अचानक गतवर्षको जेठ १५ मा दुवैका फिल्म जुध्ने भए, रोहितको ‘फर्कीफर्की’ र दिनेशको ‘पूजार सार्की’ । पछि ‘२६ करोड’ का लागि दिनेश र रोहितले न निर्माण सहकार्य गरे, न त सम्बन्ध नै सुमधुर रह्याे ।
फिल्मबाट शुरु भएको जुधाई अन्ततः दंगाली र काँठे फिल्मकर्मीसम्मै तानियो । फिल्मको जुधाईमा त व्यापारिक हिसाबले ‘पूजार सार्की’ ले बाजी मार्यो, तर व्यक्तिगत ईगोमा भने रोहित पनि कम देखिएनन् । वर्षदिन बित्दा पनि उनले फेसबुकमा दिनेशलाई घोचपेच हान्न छोडेनन् ।
रोहितले सन्दर्भ के बनाए भने, ‘महाभोज’ प्रदर्शनको । ‘पूजार सार्की’ सँगको रोष उनले ‘महाभोज’ मा आएर पोखेको प्रष्टै देखियो । प्रदर्शनको दोस्रो दिनमा रहेको ‘महाभोज’ मा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, दयाहाङ राई, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङलगायत प्रतिष्ठित कलाकारको भीडभाड नै छ । तर फिल्मले सुरुवाती व्यापार केही फितलो गरेपछि रोहितले आफुलाई ‘महाभोज’ प्रदर्शनको एकदिन भन्दा बढि रोक्न सकेनन् र शनिबार बिहानै फेसबुकमा पोखिए ।
खैर, निर्देशक राउत सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । यस्तोमा उनको जवाफ तत्काल आईहाल्ला भन्न पनि सकिन्नँ । तर रोहितको स्टाटसमा नुवाकोटे निर्माता अर्जुनकुमारको घुसपैठले माहौल थप गर्माएको छ । अर्जुनले रोहितको उक्त स्टाटसको कमेन्टमा तारो बनाए, स्याङ्जाली हिरो खगेन्द्र लामिछानेलाई । ‘त्यो ∗∗∗ नक्कली आमिर खानलाई पैसा हाल्नु बेकार हो भाई, तिमी बच्यौ । पैसा फिर्ता दियो की दिएन ?’ अर्जुनको सवालको रोहितले यो गसिप तयार पार्दासम्म जवाफ दिईसकेका त छैनन्, तर त्यो नक्कली आमिर खान को हो भनेर चिन्न पो सकिएन भन्दै जिज्ञासा राख्ने ‘जन्ते बाख्रो’ का अभिनेता आसिफ साहलाई भने ‘पत्ता लगाऊ’ भन्दै अर्जुन नै भिडिरहेका छन् ।
उता, खगेन्द्रले पनि लगत्तै थोरै डिप्लोमेसीको भाषामा ‘ट्याक्सी ड्राइभर किस्सा’ हालेका छन्, आफ्नो फेसबुक पेजमार्फत् । जसमा उनले पठित र अनपढबीचको भेदका बारेमा मात्रै कुरा गरेका छैनन्, उक्त नुवाकोटे (खगेन्द्रले नै भनेका छन्) ड्राइभर नपढेकोले हाल पछुताएको संकेतमा लामो स्टाटस ठोकेका छन् । कमै र सेलेक्टिभ स्टाटस मात्रै लेख्न रुचाउने खगेन्द्रको ‘महाभोज’ को प्रदर्शनलाई लिएर स्टाटस आउनुको सट्टा लघुकथा नै आउनुको अर्थ सायद यत्तिकै नहोला । कि के हो अर्जुनकुमार जी ?