कलाशैली संवाददाता । जेठ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’ को प्रिमियरमा सहभागी सेलिब्रेटीहरूले यसलाई पूर्ण मनोरञ्जनात्मक र पारिवारिक फिल्मको रूपमा प्रशंसा गरेका छन् । बुधबार साँझ सुन्धारास्थित सिभिल मलको क्युएफएक्समा आयोजित प्रिमियरमा फिल्म हेरेपछि सेलिब्रेटीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
अभिनेत्री वर्षा राउतले लामो समयपछि हलमा हाँस्दै रमाइलो गरेको बताइन्। उनले भनिन्, ‘धेरैपछि हलमा यति रमाइलो गरी हाँसेकी छु। आशिफ दाइ (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा खुसी लाग्यो। उहाँ यसअघिका फिल्मभन्दा फरक र उत्कृष्ट देखिनुभएको छ ।’
अभिनेता सञ्जोग कोइरालाले ‘जन्ते बाख्रो’ नयाँ पुस्ताका लागि परम्परा र मनोरञ्जनको संयोजन भएको बताए । उनले भने,‘ट्रेलरले आकर्षित गर्नुभएको छ भने फिल्म हेर्न आउनुस्, पूर्ण मनोरञ्जन पाउनुहुनेछ । ग्रामीण सुन्दरता, सामाजिक सद्भाव र परम्पराले भरिएको यो फिल्मले दर्शकलाई आनन्द दिन्छ ।’
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले फिल्मको पटकथालाई रमाइलो ढङ्गले पर्दामा उतारिएको भन्दै प्रशंसा गरे । ‘पटकथा सुन्दा कस्तो होला भन्ने लागेको थियो, तर रमाइलो बनेको छ । धेरै ठाउँमा हाँसेको छु । फिल्मले प्रिमियरका सबै दर्शकलाई बाँध्न सफल भयो । निर्माता सन्तोष गौतमको आगमनले नेपाली फिल्म क्षेत्रमा नयाँ सम्भावना थपिएको छ’, उनले भने ।
गायक महेश काफ्लेले फिल्मले मानवीय भावनालाई समेटेको बताए । ‘कथा सरल र रमाइलो छ । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले निकै इन्जोय गरेँ’, उनले भने ।
प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले अभिनेत्री गरिमा शर्मालाई उत्साहित बनाएको छ । उनले भनिन्, ‘फिल्म बुझेका दर्शकले रमाइलो, बोर नलाग्ने र दर्शकलाई बाँध्ने प्रतिक्रिया दिएका छन् । यो हाम्रो टिमका लागि उत्साहजनक छ । रेगुलर शोमा पनि यस्तै माया पाउने अपेक्षा छ ।’
पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले आफ्नो पात्र ‘सम्झना’ फिल्मको केन्द्रमा रहेको बताइन् । अभिनेता लोकेन्द्र लेखकले कथा, निर्माण र कलाकारको संयोजनले फिल्म उत्कृष्ट बनेको उल्लेख गर्दै सबै परिवारलाई हलमा आउन आग्रह गरे । अभिनेता आशिफ शाहले गाउँको सेटअपमा काम गर्नु नयाँ अनुभव भएको बताए ।
‘यो पारिवारिक फिल्म हो, जसमा हाँसो, रोदन र सबै भावना मिश्रित छन् । प्रिमियरको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ’, उनले भने । अभिनेता सौगात मल्लले दर्शकको प्रतिक्रियाको पर्खाइमा रहेको बताए । ‘हामीले राम्रो काम गरेका छौँ। यो फिल्ममा म फरक देखिएको छु जस्तो लाग्छ । दर्शकले रुचाउनुहुन्छ भन्ने विश्वास छ’, उनले भने ।
निर्माता सन्तोष गौतमले फिल्म निर्माणमा कुनै सम्झौता नगरेको बताए । ‘यो फिल्म परिवारका सबै सदस्यले सँगै हेर्न मिल्ने गरी बनाइएको छ । दर्शकले रुचाउनेमा विश्वस्त छु’, उनले भने । जेठ २३ गतेदेखि प्रदर्शन हुने फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ ।
‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय छन् । ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।
टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । फिल्म आगामी जेठ २३ शुक्रबारदेखि नेपालभर प्रदर्शन हुनेछ ।





