कलाशैली संवाददाता । पूर्व निर्धारित जेठ १५ को रिलिज मितिलाई स्थगीत गरेको फिल्म ‘महाभोज’ अन्ततः दुई साता पछि सर्दै जेठ ३० मा रिलिज हुने भएको छ । जेठ १५ मा हुने भनिएको राजावादीको आन्दोलन र सत्ता घटक एमालेको प्रदर्शनको साथै यातायात संगठनले गर्ने भनिएको देशव्यापी प्रदर्शनका कारण रिलिजको पूर्व सन्ध्यामा ‘महाभोज’ ले रिलिज पोष्टपोन्ड गरेकोे थियो ।
निर्माण कम्पनी क्लक वर्क क्रियसन्सले संभावित प्रदर्शनका कारण दर्शकले असामान्य अवस्था भोग्नु नपरोस् भनेर फिल्मको प्रदर्शन स्थगित गरेको जनाएको थियो । त्यसो त उक्त निर्माण कम्पनीले देशभित्र मात्रै नभई विदेश प्रदर्शन पनि रोकिएको बताए पनि केही देशमा भने ‘महाभोज’ को प्रदर्शन भईसकेको छ ।
यतिबेला निर्माण पक्षले रिलिज मिति सार्नु पर्दा दर्शकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे । निर्देशक राउतले भनेका छन्, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको फिल्म ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । यसबाट दर्शकहरूप्रति पुग्न गएको असहजताप्रति क्षमा प्रार्थी छौँ ।’
उनले फिल्म हाम्रै समाजको कथा भएकोले सम्पूर्ण दर्शकको साथ र मायाले सफल हुनेमा आशावादी रहेको पनि बताए । त्यसो त पूर्व निर्धारित प्रदर्शन मितिको पूर्वसन्ध्यामा वैशाख १४ मा उक्त फिल्मको काठमाडौंमा प्रिभ्यु शो पनि गरिएको थियो । सहकारी वचत अपचलनको हालको राष्ट्रिय मुद्दालाई नै फिल्मको केन्द्रिय कथा बनाइएको महाभोजको उक्त प्रिभ्यू शोमा पनि पीडित सहकारी बचतकर्ताको उल्लेख्य सहभागीता थियो । शोपछि उनिहरुले विकास सुवेदीको लेखन रहेको फिल्मले उठान गरेको विषयबस्तु रुचाएका थिए ।
‘महाभोज’ मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । कडरियाको यसअघि ‘नांगो गाउँ’ प्रदर्शनमा आएको थियो ।





