कलाशैली संवादाता । नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । आइतबार दिउँसो हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोत र संगीतकार संघले पुष्टि गरेको छ ।
७७ वर्षीय रसिक विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनका भाइ नाता पर्ने वसन्त मुकारुङका अनुसार रसिकको निधन आइतबार बिहान ११ बजे अस्पतालमा भएको हो । संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधनप्रति गहिरो दुख व्यक्त गर्दै उनको योगदानलाई स्मरण गरेका छन् ।
रसिककी एकमात्र छोरी बेलायतबाट फर्किएपछि उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ । हाल उनको पार्थिव शरीर त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा रसिकको योगदान अविस्मरणीय रहनेछ । उनको निधनले सांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको संगीतकार संघले जनाएको छ ।





